
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ ।
गत साताको बिहिवार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ । आइतबार सरकारले सार्वजनिक बिदा दिएको कारण शेयर कारोबार पनि बन्द भएको थियो । तर, सातामा चार दिन कारोबारमा नेप्से परिसूचक तीन भारी अंकले वृद्धि हुँदा परिसूचकले २५ सय बिन्दु पार गरेको छ । चार दिन भएको कारोबारमा नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएर २ हजार ५२०.२३ विन्दुमा रोकिएको छ ।
पछिल्लो एक महिना देखि नेपाली पुँजीबजारमा ठूलो उतार चढाव आइरहेको छ । अझ अघिल्लो साता निरन्तर रुपमा परिसुचकमा गिरावट आउँदा नेप्से २३ सय अंक तल झर्न थालेको थियो । तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबार देखि सेयर बजार उकालो लागेको थियो । राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता शेयर बजार उकालो लागेको देखिन्छ ।
साताको पहिलो कारोबारको दिन सोमवार नेप्से परिसूचकमा १७.९३ अंकले गिारवट आएको थियो । १७.९३ अंकले गिरावट आएर परिसुचक २३५८.८१ विन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको थियो । मंगलबार भारी अंकले बढेको नेप्से बुधवार पनि निरन्तरता पाएको थियो । मंगलवार ५६.७३ अंकले बढेको नेप्से बुधवार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७० बिन्दुमा पुगेको थियो । नेप्से उकालो लाग्ने निरन्तरसँगै साताको अन्तिम कारोबार विहिवारको दिन पनि नेप्से परिसूचक १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ । यो साता सबै इन्डेक्सहरु बढेका छन्।
पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गत साता १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका लगानीकर्ताले यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३३ खर्ब ४१ अर्ब ४४ करोड रुर्पैयाँ रहेको थियो । यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेर ३५ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit