Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेका छन् ।

 

मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन । १४ औं महाधिवेशनको तयारीमा जुटेका आफूहरुलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दवाव दिन धर्ना कार्यक्रम सुरु गर्नु परेको नेपाली कांग्रेसका रामेछाप जिल्ला कार्य समितिका सभापति लवश्री न्यौपानेले जानकारी दिए । 

 

उनले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न पनि आफूहरुले पार्टी नेतृत्वलाई दबाब दिएको स्पष्ट पारे । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति पछिल्लो समय पुनः तोकिएको छ । 

 

कांग्रेस सभापतिहरुले सो मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिन पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिनु परेको स्पष्ट पारेका छन् । धर्ना कार्यक्रममा पुगेर नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापाले पनि अविलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

 

नेता कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन पनि पार्टी नेतृत्वले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । 

 

अर्का नेता केसीले नेपाली कांग्रेसका हरेक सदस्यहरुले आफ्नो कार्य क्षेत्रको क्रियाशील सदस्यहरुको जानकारी पाउने अधिकार सुनिश्चित गर्न पनि पार्टी नेतृत्वले तत्काल क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताए । 

 

युवा नेता गगन थापाले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अधिकार पार्टीको सिंगो पंक्तिलाई रहेकाले पनि कांग्रेस नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै