Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कहाँ गए एसएसपीले रोपेका १५ सय वटा गुर्जो ?

गत वर्ष मुलुकभर कोरोना महामारीको आतंकले लकडाउन हुँदै गर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको तीनकुनेस्थित खाली स्थानमा गुर्जो लगायत बिरुवा रोपेको थियो । 

 

त्यतिबेला ट्राफिक महाशाखाका प्रमुख थिए, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । उनैको नेतृत्वमा तीनकुनेमा १५०० वटा गुर्जोको बिरुवा रोपिएको थियो । त्यसबेला उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको बिरुवा रोपिएको थियो ।  

 

कोरोनाका कारण त्यतिबेला गुर्जोको माग अत्यधिक थियो । गुर्जो पानी खाँदा संक्रमितलाई पनि सञ्चो हुने र रोधप्रतिरोधात्मक क्षमता बढाउने जनविश्वास बढेको थियो । 

 

त्यसकारण ढकालले पनि यही मौकामा गुर्जोको बिरुवा रोपेर वाहवाही कमाए । तर, हाल एक वर्षपछि उनको त्यो काम केवल ‘पब्लिक स्टन्ट’ मा मात्र सीमित भएको पुष्टि भएको छ । अहिले तीनकुने पार्कमा हेर्ने हो भने गुर्जोको नामोनिशान पनि भेटाउन गाह्रो छ ।  

 

तीनकुने पार्कको हालको अवस्था

 

‘फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनुपर्ने भएकोले कोरोना भाइरस संक्रमणको जोखिम ज्यादा छ,’ त्यतिबेला ढकालले भनेका थिए, ‘त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको हो ।’

 

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह–सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा उपलब्ध गराएका थिए । गुर्जो रोप्ने कार्यक्रममा एसएसपी ढकालसहित प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागी थिए ।

 

तीनकुने पार्कको हालको अवस्था


तर अहिले महाशाखालाई ती बिरुवा के भए भन्ने पत्तो नै छैन । बिरुवा रोपिए पनि कसैले त्यसको संरक्षणमा चासो दिएनन् । त्यसकारण पनि बिरुवा रोप्ने काम त्यसबेला चर्चा कमाउनका लागि गरिएको साबित भएको छ । 

 

तीनकुनेमा यसअघि पनि सरकारले नै पार्क बनाउने योजना बनाएको थियो । तर, त्यसले पनि मूर्तरुप पाउन सकेको छैन । बरु बेलाबेलामा अन्य देशका उच्च पदाधिकारी आउँदा भने उक्त स्थानलाई कृत्रिक बोटबिरुवा राखेर सजाइने गरिन्छ । 

 

यसरी सजाउँदा लाखौं रुपैयाँ खर्च हुन्छ तर केही समयपछि ती सबै नष्ट भएर जान्छन् । तीन वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा पनि तीनकुनेको उक्त खाली स्थानलाई रातारात हरियाली बनाइएको थियो । 

 

निर्माण गर्ने भनिएको तीनकुने पार्कको डिजाइन

 

सजावटका लागि क्रंकिटका जवार राखिएका थिए । ठूल्ठूला बोटबिरुवा राखिएका थिए । अहिले माटो उकासेर रोपेको बोटबिरुवाले आवरणमा केही राम्रो देखिए पनि भित्र भने घारी बनेको छ । जनावरका प्रतिमा फुटेका र लडेका भेटिन्छन् । 

 

काठमाडौं महानगरले त्यतिबेला तीनकुनेलाई सजाउन ३० लाख रुपैयाँ खर्च गरेको थियो । तर, त्यसको सदुपयोग र संरक्षण हुन नसक्दा उक्त खर्च बालुवामा पानी हाले सरह भएको छ । काठमाडौं महानगरले हालसम्म तीनकुनेको उक्त स्थानलाई संरक्षण र रेखदेखको जिम्मा कसैलाई दिएको छैन ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै