Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

चैत्रबाटै यसरी संचालन हुनेछ चोभारमा रहेको सुख्खा बन्दरगाह 

काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ । असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो ।

 

बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने बताए । समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनको भनाई थियो । 

 

उनले भने, ‘निर्माण सम्पन्न त गत असारमै भएको हो । अब यहाँ जुन सरोकारवाला निकाय छौँ हामी इन्टरमोडेल यातायात विकास समिति, भन्सार विभाग, क्वारेन्टीन भयो । अब हाम्रो तयारी सकिएको छ । अब हामी तयारी अबस्थामा छौँ । चाडैँ उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तिव्रता दिइराखेका छौँ ।’

 


सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताए । भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले उल्लेख गरे । 

 


उनले भने, ‘अहिले हाम्रो जतिपनि सुख्खा बन्दरगाहहरु छन्, कि चीनको नाका कि भारतको नाकासँग हो । अहिले हामीले भारतको नाका जोडिएको बन्दरगाहहरुमा जुन आउँछ, काठमाडौं आउने सामान काठमाडौंमै ल्याएर भन्सार चेकजाँच गराउने, भन्सार पास गराउने र यहाँ त्यो सुविधा प्रदान गराउने भन्ने नै उद्देश्य हो । त्यस हिसाबले अहिले हामी भारतबाट आउने सामानहरु काठमाडौं सुख्खा बन्दरगाहमा आएर यहाँ भन्सार प्रक्रिया पुरा गरेर व्यापारी, व्यवसायीको सामानहरु कन्ज्युमर सम्म पुग्ने त्यो अवस्था त्यो सहजीकरण हुने भयो यसबाट ।’

 

 

उनका अनुसार सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइदिने र जिपिएस सिस्टम जडान गरेर पठाउने बताए । यसरी सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरु सुख्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उनले स्पष्ट पारे । 

 

 

‘अहिलेको हाम्रो एरेजमेन्ट चाहीँ कस्तो हो भन्दाखेरी जति पनि हाम्रो अहिले भइराखेको जस्तो विरगञ्जकै सुख्खा बन्दरगाह कुनै एउटा सवारी साधन मालसामान लिएर भित्रिदै छ भने त्यहाँ एउटा सिल लगाइदिने । हामीले चाहीँ अहिले कन्टेनरको कुरा गरिराखेका छौँ । त्यसमा सिल लगाइदिने । र त्यसपछि जिपिएस सिस्टम जडान गर्ने । र जिपिएस सिस्टम जडान गरेर त्यहाँबाट सिल नतोडिकन जिपिएस चलिराखेको अवस्थामा यो चोभारको सुख्खा बन्दरगाहमा आउँछ । यहाँ आएपछि जिपिएस चेक हुन्छ । सिल चेक हुन्छ । त्यसपछि भन्सार प्रक्रिया हुन्छ । भन्सार पास हुन्छ’, उनले भने । 

 

 


बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरुको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए  । सबै पूर्वाधारहरुको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रुपमा सञ्चालन हुने उनको भनाई थियो । 

 


उनले भने, ‘भन्सारको सहजीकरणको लागि चाहिएको पूर्वाधार यो सुख्खा बन्दरगाहमा हुन्छ । जस्तै त्यसमा गाडी छिर्नलाई इन्ट्री चाहियो । राम्रो व्यवस्थित गेटको सुविधा हुनुपर्छ । सामान जोख्न धर्मकाँटा त्यसको व्यवस्थापन पर्छ । एप्रिजेल सेटको संरचना हुनुपर्छ । कति प्रक्रिया नपुगेको, कागजपत्र नभएको त्यस्तो अवस्थामा व्यापारी, व्यवसायीले हामी केही दिनको लागि सामान स्टोर गर्छौ भन्यो भने त्यसको लागि गोदाम उपलब्ध गराउँछौँ । कन्टेनरका लागि पार्किङ यार्ड र सवारीका लागि पनि पार्किङस्थलहरु बनाएर राखेको छौँ । बैंकको लागि स्पेश दिन्छौँ । क्वारेन्टीनको लागि स्पेश दिन्छौँ । रातिको लागि लाइटिङ सिस्टम भयो, इमर्जेन्सीको लागि फायर फाइटिङ भयो । सुरक्षाको लागि सिसी क्यामेराहरु भयो, यो सबै कुरा सुख्खा बन्दरगाहमा हुन्छ र यसले भन्सार चाँज पासको लागि सहजीकरण गर्ने भयो ।’

 

 


इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिम्मुरेमा पनि सुख्खा बन्दरगाह निर्माण भइरहेको बताए  । मुस्ताङ र कञ्चनपुरमा पनि बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको उनले बताए ।

 


‘चलिराखेको भनेको विरगञ्जमा एउटा सुख्खा बन्दरगाह जुन रेलबाट जोडिएको छ । अर्को विरगञ्ज एकिकृत जाँच चौकी । अर्को भैरहवामा सुख्खा बन्दरगाह भयो । काकडभिट्टामा पनि सुख्खा बन्दरगाह छ । र तातोपानीमा पनि सुख्खा बन्दरगाह छ । यति सञ्चालनमा भइरहेको संरचनाहरु हुन् । त्यो बाहेक नेपालगञ्जमा निर्माण भइराखेको छ । जुन भारत सरकारको सहयोगमा । त्यस्तै रसुवाको टिम्मुरेमापनि चीन सरकारको सहयोगमा निर्माण भइराखेको छ । अर्को कोरोलामा मुस्ताङमा पनि हामीले सम्भाव्यता अध्ययन ग¥यौँ र यसपालि हामी इआइए गर्दैछौँ । र विस्तृत सम्भाव्यता अध्ययन पनि गर्दैछौँ । त्यस्तै अर्को हाम्रो प्रायरोटीमा दोधारा–चाँदनी पनि छ जुन सुदूरपश्चिमको कञ्चनपुर जिल्ला अवस्थित ठाउँमा सुख्खा बन्दरगाह बनाउने भनेर लागेका छौँ । त्यहाँ हामीले जग्गा एकिन गरिसकेका छौँ । त्यहाँ बातावरणिय प्रभाव मुल्यांकनको काम सुरु गरिसकेका छौँ । टिओर स्वीकृत भइसकेको छ वन तथा वातावरण मन्त्रालयबाट । अरु नाकाहरु किमाथांका, जलेश्वर विभिन्न ठाउँहरुमा नयाँ बन्दरगाहहरुको आवश्यकता छ कि छैन, चाहिन्छ कि चाहिदैनँ, त्यो हिसाबले उत्तरी नाका र दक्षिणी नाका दुवैतिर हामीले अध्ययनलाई निरन्तरता दिइराखेको अवस्था छ । सञ्चालन भइराखेको जतिपनि सुख्खा बन्दरगाह छ त्यसलाई अपग्रड गर्न अध्ययन गरेर अझ प्रविधिमैत्री बनाउन काम गरिराखेको अवस्था छ’, गजुरेलले भने । 

 

 

हाल विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रुपमा अगाडी बढाउन काम गरिरहेको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै