Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सरकारले नेपालमा सवारी उत्पादन गर्ने व्यवसायीलाई सुविधा र छुट दिन्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । 

 

अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै उनले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । उनले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । 

 

आयातलाई पनि निरन्तरता दिँदै अब नेपालमै सवारी साधन उत्पादनमा जोड दिन अटो व्यवसायीलाई उनले आग्रह गरेका छन् । उनले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यनूतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धता समेत जनाएका छन् । 

 

‘सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्दैन । व्यवसायी यो विषयमा चिन्तित बन्नु पर्दैन । सरकारले प्रतिबन्ध होइन । स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउने काम गर्ने छ ।  अहिले आयातमा प्रतिबन्ध लगाउन सकिन्न, विभिन्न ऐन कानूनले पनि दिँदैन, तर स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाएर आयात कम गराउन सकिन्छ । सरकारले नेपालमा सवारी उत्पादन गर्ने व्यवसायीको लागि सबै सुविधा तथा छुट दिन तयार रहेको छ’ उनले भने ।

 

‘विद्युत् र श्रम शक्ति अहिले नेपालको सबैभन्दा बलियो स्रोत हो । विद्युत र श्रम शक्तिलाई नाडाले उपभोग गर्नुपर्छ । सरकारले नीतिगत अस्थिरता हटाउन तयार छ । त्यसको लागि अटो व्यवसायी तयारी हुनुपर्छ । विद्युतीय चार्जिङ स्टेसन बनाउनमा सरकारले जोड दिइरहेको छ । अब सबै पेट्रोल पम्पलाई विद्युतीय चार्जिङ स्टेसनमा बदल्नुपर्छ । त्यसको सहज प्रविधि पनि विकसित भइसकेको छ’ उनले भने ।

 

उनले आफू मैले अर्थशास्त्र जानेको मान्छे नभए पनि देशलाई आत्मनिर्भर बनाउनका लागि कुन बाटो लानुपर्छ भन्ने थाहा भएको बताएका छन् । देश सम्पन्न र आत्मनिर्भर नभई जनताले सेवा सुविधा नपाउने उनले जिकिर गरेका छन् ।

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताएका छन् । उनले सरकारले अर्थतन्त्रलाई बलियो बनाउनको लागि परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्नु पर्ने  बताएका छन् । 

 

‘सरकारले अर्थतन्त्र गतिशिल बनाउनको लागि परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्न सक्नु पर्छ । परिर्वतन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । यसरी परम्परागत नीतिगत व्यवस्था परिर्वतन गर्दा केहीले विमती हुन्छ । सरकारले नीतिगत छलफल गर्दा सरोकारवाला निकायसँग छलफल गर्नुपर्छ’ उनले भने ।

 

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा आज र भोली दुई दिनसम्म हुनेछ । सभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै