Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

लोकतन्त्रको रक्षाका लागि एमालेले बहुमत पाउनु पर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिएका छन् । 

 

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्ने बताएका हुन् । 

 

द्वन्द्व र हिंसाबाट गुज्रिएको मुलुकमा दिगो शान्ति स्थापना तथा सुशासन र भ्रष्टाचार मुक्त गरी देशलाई समृद्ध नेपाल सुखी नेपालीसम्म पुराउने अभिभारा पूरा गर्न बहुसंख्याको अभिमतबाट स्थानीय तहको निर्वाचन जित्नुपर्ने तर्क उनको थियो । उनले भ्रमपूर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरु भएको दाबी गर्दै त्यसविरुद्ध बहुसंख्याको अभिमत प्राप्त गरी स्थानीय तहको निर्वाचनबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

 

‘नेकपा एमाले देशको सबै भन्दा ठूलो प्रमुख राजनीतिक पार्टी हो । जननिर्वाचित संस्थाहरुमा प्रतिनिधित्वका दृष्टिले, राष्ट्रलाई अघि बढाउने नीतिगत विषय र व्यवहारिक प्रश्नमा हामी प्रमुख पार्टी हौँ । लोकतान्त्रिक आन्दोलनको मुल धार हामी हौ । अनेक हिसाबबाट नेकपा एमाले नै सबै भन्दा पुरानो र मुल धार बोकेको पार्टी हो भन्न अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन,’ उनले भने ।

 

केन्द्रीय कमिटि बैठकले स्थानीय तहको निर्वाचन सफलतापुर्वक समपन्न गराउन संगठनात्मक र प्रचारात्मक कार्याक्रम तथा जनपरिचालन सम्बन्धी महत्वपूर्ण निर्णय गर्ने छ । त्यसैगरी भोलिको बैठकमा निर्वाचन केन्द्रित गरेर बनाइएको पार्टीको एपबारे केन्द्रीय कमिटी सदस्यलाई जानकारी गराउने पनि अध्यक्ष ओलीले जानकारी दिए । उनले नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेसंगै सदस्यता सख्या ११ लाख पुगेको आकलन गरिएको दाबी पनि गरे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै