
पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन समारोह आयोजना गरिएको छ ।
महाराजगञ्जस्थित दूतावास परिसरमा आयोजित कार्यक्रमा पाकिस्तानी राजदूत सैयद हैदर शाहले पाकिस्तानको राष्ट्रिय झण्डा फहराए । सो अवसरमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भि, प्रधानमन्त्री इमरान खान र बिदेशमन्त्री शाह मुहम्मद कुरेसीले ८२ औं राष्ट्रिय दिवसमा दिएको सन्देश पढेर सुनाइएको थियो ।
समारोहमा बोल्दै राजदूत शाहले सन् १९४० मा मुस्मिल समुदायले भावि पुस्ताका लागि बेग्लै देशका लागि दृढतापूर्वक संघर्ष गरेको स्मरण गरे ।
‘हाम्रा पुर्खाको जन्मभूमि पाकिस्तान स्थापनाप्रतिको दृढतालाई हामीले सदैव स्मरण गर्नुपर्छ’ उनले भने । हरेक वर्ष मार्च २३ लाई पाकिस्तानले राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । पाकिस्तान भर उल्लासका साथ आज राष्ट्रिय दिवस मनाइँदै छ ।
सन् १९४० को मार्च २३ मा महिनामा ऐतिहासिक लाहोर संकल्प अनुमोदन गरिएको थियो । मोहम्मद अलि जिन्नाको नेतृत्वमा भएको पाकिस्तान स्वतन्त्रता आन्दोलनले यस उपमहाद्वीपमा बेग्लै मुस्लिम देशको एजेन्डा तय गरेको थियो । उक्त स्वतन्त्रता आन्दोलनपछि सन् १९४७ अगस्ट १४ मा भारतबाट टुक्रिएर पाकिस्तानको जन्म भएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit