
मोरङको विराटनगरमा भारत सरकारको सहयोगमा आरोहण गुरुकुलको भवन निर्माण भएको छ ।
भवनको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज संयुक्त रुपमा उद्घाटन गरे ।
तीन करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । नेपालमा रहेको यो नाट्य समूहले नेपाली रंगमञ्चको प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ र नेशनल स्कुल अफ ड्रामा लगायत भारतका विभिन्न नाट्य समूहसँग सुमधुर सम्बन्ध कायम राखेको छ ।
नवनिर्मित संरचनाले आरोहण–गुरुकुल नाट्यशाला परिसरमा राम्रो वातावरण सिर्जना गर्नुका साथै मोरङ जिल्लामा नवीन तथा विशेष कार्य गर्न र शिक्षा–संस्कृति क्षेत्रको विकास गर्न मद्दत गर्ने दूतावासले अपेक्षा राखेको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये मोरङ जिल्लाका १५ वटा गरी प्रदेश १ मा ७८ वटा परियोजनाहरु छन् । यसका अतिरिक्त भारत सरकारले विभिन्न स्वास्थ्य चौकी तथा विद्यालयलाई २० वटा एम्बुलेन्स तथा ८ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit