Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अलग बाटोमा लागेका हजारौं नेता पुरानै घरमा फर्किन सुरु भयोः प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताएका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको बताए । 

 


प्रचण्डले कम्युनिष्ट र पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन पनि आह्वान गरे । “विभाजित भएका माओवादी शक्ति पुनःएकता हुनेक्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ”, उनले भने, “जनयुद्धबाट प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ ।”

 


सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दै उनले परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरु एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताए ।  

 


परिवर्तनका मुद्दालाई स्थापित गर्न, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र न्यायपूर्ण आन्दोलनका सहिदका सपना पूरा गर्न परिवर्तनकारी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीले जित्नैपर्ने उल्लेख गरे । 

 


कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेताहरु माओवादीमा प्रवेश गरेका थिए । जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलीप थापामगर लगायत प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै