
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने उल्लेख गरेका छन् ।
१४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले विरोधीहरूबाट गणतन्त्रका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेकाले यस्ता तत्वविरुद्ध एकतावद्ध संघर्ष निम्ति आग्रह गरेका छन् ।
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको प्रचण्डले लेखेका छन्।
वक्तव्यमा उनले कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन्।
'भाइरसको दोस्रो लहरले नेपालमा धेरै व्यक्तिको ज्यान गएको छ। स्वदेशमै उपलब्ध स्रोत/साधनको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको छ। कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन् भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको छ,' उनले लेखेका छन्, 'यस प्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।'
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit