
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९.४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्याङ्कअनुसार ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।
चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । ९ महिनामा ३१.९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ ।
तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको आयात भएको थियो । उक्त अवधिमा निर्यातको तुलनामा आयातको वृद्धि धेरै हुँदा व्यापारघाटा पनि पनि बढेको छ ।
चालू आवको सुरुवाती नौ महिनामा साढे १४ खर्ब रुपैयाँभन्दा बढीको आयात हुँदा २८.४७ प्रतिशत व्यापार घाटा बढेको हो । चालु आवको ९ महिनामा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ थियो ।
नेपालको वैदेशिक व्यापार पनि चालु आवको नौ महिनामा ३४.९१ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ ।
तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit