
एक महिनादेखि केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार बढेको छ ।
सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले नेप्से परिसूचकमा हरियाली छाएको छ । सोमबार १७.९३ अंकले गिरावट आएको नेप्से परिसूचक आज ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ । यता ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.३४ अंकले बढेर ४६२.५२ अंकमा पुगेको छ ।
आज कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार नेप्से सूचक बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ । जसमा सबै भन्दा बढी अन्य उपसमूहको ३.८८ प्रतिशत, हाइड्रोपावर ३.६३ प्रतिशत, विकास बैंक उपसमूहको ३.४१ प्रतिशतले बढेको छ । भने बैंकिङ्ग उपसमूह २ प्रतिशत, व्यापार २.९२ प्रतिशत, र्निजिवन बिमाको २.०४ प्रतिशत, लगानी उपसमूहको १.९३ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा तीन कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशत, जानकी फाइनान्सको ९.८१ प्रतिशत, रसुवागढि हाइड्रोपावरको ९.२१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ ।
त्यस्तै, गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशतले घटेको छ भने तेह्रथुम पावरको ३.२६ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.९९ प्रतिशत र सामलिङ्ग पावरको ०.४२ प्रतिशतले घटेको छ। कारोबारको आधारमा सबैभन्दा बढि हिमालयन डिस्टिलरीको १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । भने नबिलको १४ करोड १८ लाख रुपैयाँ र नेपाल टेलिकमको १० करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit