
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ को लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको छ ।
‘वर्ल्ड इकोनोमिक आउटलुक डाटाबेस, २०२२’ सार्वजनिक गर्दै आईएमएफले यस्तो अनुमान गरेको हो । आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहनेछ । नेपालले यस वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
आईएमएफले यस वर्ष एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने अनुमान गरेको छ । गत जनवरी महिनामा आईएमएफले यो क्षेत्रको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान गरेको थियो ।
रुस–युक्रेन युद्धका कारण बिग्रँदो वस्तु बजार, कोभिड महामारी पछिको आर्थिक पुनरुत्थानमा ढिलाइ तथा चर्को ब्याजदरलगायतका कारणहरूले एसिया र प्रशान्त क्षेत्रको वृद्धिदर घट्ने अनुमान गरिएको हो । त्यस्तै यस क्षेत्रका अधिकांश देशहरुमा मुद्रास्फीति दर बान्छित सीमाभन्दा बाहिर जानसक्ने अनुमान पनि आईएमएफले गरेको छ ।
केही समयअघि मात्र विश्व बैंकले यस वर्षको लागि नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र रहने बताएको थियो । नेपालले सन् २०२३ मा ४.१ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।
नेपालको अर्थतन्त्रमा कोभिड महामारीको गहिरो असर देखिएका कारण वृद्धिदर खुम्चिएको विश्व बैंकको भनाइ थियो । एसियाली विकास बैंक (एडीबी) ले पनि नेपालको आर्थिक वृद्धिदर यस वर्ष ३.९ प्रतिशत रहने अनुमान गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit