Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

कोभिडविरुद्धको लडाइँ बढीमा दुई वर्षमा जित्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताएका छन् । उनले कोभिडविरुद्धको लडाइँ बढीमा दुई वर्षभित्र जित्ने पनि बताएका छन् । 

 

सोमबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउनका लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औंल्याए । 

 

जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उनले उल्लेख गरे ।

 

‘व्यक्तिलाई स्वस्थ बनाउन, शारीरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारिरीक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ,’ उनले भने । 

 

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आगामी पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिए ।

 

‘सांस्कृतिक अवपतन यो महामारीको रुपमा जुन फैलिएको छ, यसमा हामीले हाम्रो सिंगै समाजलाई सम्झाउन सकेनौं, हाम्रो नयाँ पिढीँलाई सम्झाउन सकेनौँ, अरुको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबै कुरा भुल्छौँ । अनुशासनहीन, अराजक बन्छौँ । कानुनलाई तोड्नुलाई गर्वको विषय बनाउँछौँ । जुन अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ,’ उनले भने ।
 

यसैबीच, काठमाडौंस्थित भारतीय राजदूतावासले पनि आज ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेको छ । कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा ‘घर घरमा योग’ रहेको छ ।

 

दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो । सो योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै