
सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि उपत्यकाका अधिकांश अस्पताल भने आइतबार पनि पूर्णरुपमा सञ्चालन हुने भएका छन् ।
लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै अस्पतालहरुले आइतबार सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका छन् । यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गर्दै आइतबार बन्द गर्ने गरेको छ ।
सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतबार बिदा हुने बताए ।
“सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौँ”, उनले भने, “तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ । बहिरङ्ग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतबार बन्द गर्ने निर्णय गरेका हौँ ।” उनी कार्यालय समय बढेकाले बिरामीको उपचार गर्न सकिने बताउँछन् ।
यस्तै गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले
बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार पनि अस्पताल खुल्ने बताउए । उनका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतबार पनि खुल्ने छ । उक्त केन्द्रमा दैनिक ६०० बिरामी उपचारका लागि आउने गरेका छन् ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा मनिषा थापाले सार्वजनिक बिदाका दिन आइतबार पनि बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताइन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत अवस्थामा नै अस्पताल सञ्चालन भइरहने बताए । बिरामीको अवस्थालाई मध्यनजर गर्दै अस्पताल आइतबार पनि खुल्ने उनले बताए ।
त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब दुई हजार ५०० बिरामी उपचारका लागि आउने गरेका छन् । निजामती कर्मचारी अस्पतालका प्रशासकीय प्रमुख कृष्ण सापकोटाले भोलिको आइतबार खुल्ने र आगामी आइतबार खुल्ने वा नखुल्नेबारेमा निजामती कर्मचारी अस्पताल विकास समितिले निर्णय गर्ने जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक एक हजार मानिस नियमित उपचारका लागि आउने गर्छन् ।
पाटन मानसिक अस्पतालका निर्देशक डा. अनन्तराज अधिकारीले आइतबार पनि अस्पताल खोलिरहेको बताए । उनले बिरामीलाई सेवा दिन भनिएका अस्पताल बन्द हुँदा समस्या हुने भएकाले आइतबार खोल्ने बताए ।
“अत्यावश्यक सेवामूलक संस्था आइतबार पनि खोल्दा नागरिकलाई निकै सहज हुन्छ, आइतबार अस्पताल आएका बिरामी फर्कनु राम्रो होइन”, उनले भने । उहाँका अनुसार अस्पतालमा दैनिक १५० बिरामी आउने गर्दछन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit