
आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।
आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए ।
यससँगै अब निर्वाचनको सम्बन्धमा किन्तु, परन्तु नहुने उनले स्पष्ट पारे । सबै निर्वाचन कार्यालयहरुले आयोगले दिएको कार्यतालिका अनुसार काम सुरु गर्ने पनि उनले बताए । आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरु
पूरा गरिसकेको उल्लेख गरे ।
आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताए ।
सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गराउने उनले विश्वास व्यक्त गरे ।
निर्वाचन सामग्रीहरु सबै स्थानीय तहहरुमा समयमै पुर्याउने उनले बताए । सामग्री अभावका कारण निर्वाचन नरोकिने उनले उल्लेख गरे ।
उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आग्रह पनि गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit