Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

गृहमन्त्री खाणसँग कलाकार र चलचित्र निर्माताको भेट

गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्माताहरूसँग गृह मन्त्रालयमा भेटेर उनीहरुसँग अन्तर्क्रिया गरेका छन् ।  

 

अन्तर्क्रियाको क्रममा गृहमन्त्री खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए । 

 

जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाको माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको गृहमन्त्री खाणले बताए ।  

 

भेटमा कलाकार र चलचित्र निर्माताहरूले राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयनमा ल्याउने पहल गरिदिन गृहमन्त्री खाणलाई आग्रह गरेका छन् ।  साथै कलाकारका समस्या सुन्न गृह मन्त्रालयमा बोलाएकोमा कलाकर्मीले गृहमन्त्रीलाई धन्यवाद दिए ।

 

भेटमा नायक भुवन केसी, नायिका एवं हास्य कलाकार दिपाश्री निरौला, चलचित्र निर्माता नवलसिंह खड्का, गायक हेमन्त शर्मालगायतले गृहमन्त्रीले आफूलाई मन्त्रालयमा बोलाएर आफ्ना समस्या राख्न दिएकोमा आभार व्यक्त गरेका थिए । उनीहरुले विभिन्न पदकबाट राज्यले सम्मान गरेपछि आफूहरूलाई कला क्षेत्रमा केही गर्नुपर्छ भन्ने उर्जा प्रदान गरेको समेत बताए । 

 

चलचित्र निर्माणमा भोग्नु परेका समस्याबारे गृहमन्त्रीलाई अवगत गराउँदै उनीहरूले त्यसमा सहजीकरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए । 

 

गृहसचिव टेकनारायण पाण्डेसमेत सहभागी भेटमा विदेशी चलचित्रले नेपालबाट बाहिर पैसा लैजाने तर नेपाली चलचित्र बाहिर गएर नेपालमा पैसा भित्र्याउन सक्ने अवस्था नरहेको भन्दै कलाकारले नेपाली चलचित्रलाई विदेशमा समेत चल्न सक्ने बनाउने नीति निर्माणको पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै