
भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भारत सरकारको २ करोड ४ लाख ९० हजार रुपैयाँ अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा ३ हजार वटा एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइने काठमाडौंस्थित राजदूतावासले जनाएको छ ।
यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीको अमृत महोत्सव’ अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो ।
दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा
निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एलपी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्न भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो योजना प्रेरित छ ।
सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् ।
ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस योजनाको कार्यान्वयनले जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit