Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

आन्तरिक विमानस्थलबाट मात्रै १ अर्ब ७० करोड बक्यौता उठेन

नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक विमानस्थलबाट मात्रै करिब एक  अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ ।

 


संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उडड्यनसम्बन्धी समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थलबाटै सो बक्यौता रकम असुली गर्न नसकेको उल्लेख गरिएको हो । 

 


उपसमितिका संयोजक दिव्यमणि राजभण्डारीले विदेशी विमानस्थलबाट पनि बक्यौता रकम असुली गर्न प्राधिकरणले नसकेको जानकारी दिँदै त्यसको मुख्यकारण गैरजिम्मेवारीपन रहेको बताए । उपसमितिको प्रतिवेदनमा नेपाल वायु सेवा निगममा नयाँ नेतृत्व आए पनि त्यसले बोर्ड बैठकसमेत बोलाउन नसकेको उल्लेख छ । 

 


प्रतिवेदनमा नागरिक उडड्यनसम्बन्धी समस्या र समाधानका लागि सरकार र सम्बन्धित निकायलाई समितिले जिम्मेवार भएर काम गर्न सचेत गराउनुपर्ने सुझाव पनि दिइएको छ ।

 


उपसमितिका संयोजक राजभण्डारीले विमान सेवाको माध्यमबाट मुलुकको पर्यटन क्षेत्रको विकास गर्ने कुनै पनि सोच सम्बन्धित निकायसँग नरहेको बताए । नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल वायु सेवा निगमको पुरानै संरचना र सोही अनुसारको सोचको कारण यसले प्रगति गर्न नसकेको निष्कर्षसमेत उपसमितिको प्रतिवेदनमा छ ।

 


यसैबीच, समितिको बैठकमा परराष्ट्र नीति अध्ययन उपसमितिको म्याद आगामी असार मसान्तसम्म थप गर्ने प्रस्ताव पनि पेश गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै