
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न भएको छ ।
बुधवार काठमाडौंमा भर्चुअलरुपमा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकोमा जोड दिएकी थिइन् ।
बैठकमा बिम्स्टेक मुलुकका करिव एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको बताइन् ।
विचार–विमर्शले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान दिने विश्वास
व्यक्त गर्दै उर्जामन्त्री भुसालले ऊर्जाको लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्नेमा जोड दिइन् ।
जलवायु अनुकूलनका लागि किफायती, नवीकरणीय एवं दिगो ऊर्जा अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
उर्जामन्त्री स्तरीय बैठकले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ । बैठकले ग्रिड इन्टरकनेक्शन कोअर्डिनेसन कमिटि (बीजीआईसीसी) स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै यसअघि भएको विद्युतीय प्रशारणलाइन सम्बन्धी समझदारी पत्रको कार्यान्वयन गर्ने पनि बैठकमा प्रतिवद्धता जनाइएको छ ।
एशियाली विकास बैंकको सहयोगमा कमिटिले बिम्स्टेक ग्रिड इन्टरकनेक्शन गुरुयोजना बनाउन बैठकले बीजीआईसीसीलाई निर्देशन गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit