Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

अमेरिकी सहायक विदेशी मन्त्री भेटघाटमा व्यस्त

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग शिष्टाचार भेट गरेका छन् ।

 

आज अमेरिकी सहायक विदेश मन्त्री लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुुन् । शिष्टाचार भेटमा मन्त्री लुले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिबद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताएका छन् । 

 

उनले मन्त्री लुले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताएका छन् । मन्त्री लूले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिति नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताएको पनि उनले जानकारी दिएका छन् ।

 

‘संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्रीज्युले पूर्व प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटघाटको क्रममा खासगरी उहाँहरुका तीन, चार वटा विषयहरुमा उहाँहरुले नेपालसँग एउटा त हाम्रो ऐतिहासिक सम्बन्ध छ दुई वटै मुलुकका बीचमा । ७५ वर्षदेखि हामी अत्यन्त राम्रो सम्बन्ध कायम गरेर आइरहेका छौँ । अमेरिकाले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, त्यो क्षेत्रलाई हामी बिस्तार गर्न चाहन्छौँ भन्नुभयो’ उनले भने ।

 

‘दोस्रो केही नयाँ क्षेत्रमा काम गर्ने इच्छा छ, त्यो भनेको क्लाइमेट चेन्जको विषय । क्लाइमेट चेन्जले पारिरहेको असरको बारेमा हामी हाम्रो मुलुकको तर्फबाट थप केही नयाँ क्षेत्रमा काम गर्न चाहन्छौँ, त्यो भनेको क्लिन इनर्जी डेभलप नेपालको लागि अत्यन्त सम्भावना युक्त ठाउँ हो, यसले नेपालका लागि मात्रै होइन, रिजनकै लागि ठूलो योगदान दिन सक्छ । त्यो योगदान दिने कुरामा अमेरिकाको साथ र सहयोग रहनेछ भन्नुभयो’ उनले भने ।

 

‘नेपालको आर्थिक विकास, सामाजिक क्षेत्रका कार्यहरु, स्वास्थ्यको क्षेत्रमा गरिहरेको कुरामा बिस्तार गर्न चाहन्छौँ, शिक्षाको क्षेत्रमा बिस्तार गर्न चाहन्छौँ भन्नुभएको छ, पूर्वप्रधानमन्त्रीको तर्फबाट अमेरिकाले गरिरहेको सहयोगको लागि धन्यवाद भन्नुभयो, स्वास्थ्य र शिक्षाको क्षेत्रमा विगतमा गरेको योगदानको महत्व धेरै छ, यसलाई निरन्तरता दिने कुरामा धन्यवाद छ भन्ने कुरा रह्यो, पछिल्लो समय कोरोना महामारीमा भ्याक्सिनमा गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँहरुले एमसीसी के हुन्छ भनेर अर्को प्रश्न राख्नुभयो । एमसीसीको बारेमा हामी अहिले सरकारमा छैनौँ, सरकारमा नभएको बेलामा यही गर्ने भनेर बोल्ने स्थिति छैन, सरकारमा भएकाहरुले के गर्ने भन्छन्, त्यो हेरेर निर्णय गरौँ भन्नुभयो’ उनले भने ।

 

नेकपा एमालेका अध्यक्ष भेटे लगत्तै अमेरिकी सहायक विदेश मन्त्री लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग शिष्टाचार भेट गरेका थिए । उक्त भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छलफलबाट आफू सन्तुष्ट भएको बताएका छन् ।
उनले एमसीसी पहिला नेपालले सम्झौता गरे अनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको भन्दै अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताएका छन् ।

 

‘राम्रो वातावरणमा सौहाद्रपूर्ण र खुल्ला छलफल भयो, म छलफलबाट पूरै सन्तुष्ट भएको छु, हामीले पहिलो कुरा नेपालको समग्र विकास प्रक्रिया नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्ने बारेमा कुराकानी भयो । उहाँले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राख्नुभयो । एग्रिकल्चर डेभलपमेण्टको बारेमा केही कुरा गर्नुभयो’ उनले भने ।

 

‘मैले नेपालमा एग्रिकल्चर बेस्ट इण्डस्ट्रीको आवश्यक्ता छ, युवाहरुलाई रोजगारी हुन्छ, एग्रोबेस्ट इण्डस्ट्री नै राम्रो हुन्छ भने । नेपालको पिस प्रोसेसको बारेमा कुरा भयो, तेस्रो कुरा एमसीसीमा थियो । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा विल्कुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा इन्फास्ट्रक्चरको लागि आवश्यक छ, तपाईहरु पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही कन्फ्यूजनहरु छन्, पहिला ओर्जिनल डकुमेण्ट जस्तो थियो, अहिले छैन, त्यसले कन्फ्युजन छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौं, हामी डिसेम्बर १४ अघि एउटा टुंगोमा पुग्छौँ’ उनले भने ।

 

सहायक विदेश मन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग पनि शिष्टाचार भेट गरेका छन् ।

 

गृहमन्त्री बालकृष्ण खाणसँग गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ । भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पु¥याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।

 

भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरी सहभागी भएका थिए । 

 

त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको छ । भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका छन् । उनले अमेरिकी सरकारले नेपालको अर्थतन्त्रलाई उकास्न पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । 

 

नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै