
पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली नागरिकको सम्मानमा आज पाकिस्तानी राजदूतावासले काठमाडौंको होटल अलफ्टमा पूर्व विद्यार्थीहरुको गेट टुगेदर आयोजना गरेको छ ।
यी स्नातकहरूले एमबीबीएस, बीडीएस, फार्मेसी, बीएस इन्जिनियरिङ आदिमा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (पीटीएपी) अन्तर्गत छात्रवृत्ति प्राप्त गरेका थिए । कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्री प्रमुख अतिथि थिए ।
सो अवसरमा आफ्नो मन्तव्यमा क्षत्रीले नेपाल–पाकिस्तान मैत्रीपूर्ण सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरे । उनले नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवादसमेत दिए ।
यसको प्रसिद्ध शैक्षिक संस्थाहरूमा उनले पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पु¥याइरहेको बताए । जनरल क्षत्रीले आगामी दिनमा पनि पाकिस्तानको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
राजदूत सैयद हैदर शाहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए । उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीले जीवनभरका साथी बनाएको र जीवनभर सकारात्मक सम्झना लिएर गएको बताए ।
उनले भविष्यमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानको निरन्तर सहयोग रहने आश्वासन दिए । उनले मानवता सेवाको भावनालाई समर्थन गरेकोमा पूर्वविद्यार्थीहरूलाई धन्यवाद दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit