
साउदी अरेबियाका लागि प्रस्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताएका छन् ।
बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताए ।
उनले साउदी अरेबियासँगको सम्बन्धलाई थप सुदृढ बनाउने र लोकतान्त्रिक मानव अधिकारको पक्षमा पनि कुरा राख्ने बताए । प्रस्तावित राजदुत सुवेदीले जलवायु परिवर्तनको सम्बन्धमा पनि इन्टरनेशनल फोरम र साउदी अरेबियासँग छलफल गर्ने बताए ।
‘हज गर्न जानेहरुको संख्या न्यून भयो भन्ने गुनासो देशैभर छ । त्यसलाई २ हजारसम्म बढाउन अनुरोध गरौँ भन्ने कुराहरु भएको छ र त्यसम्बन्धी २ हजारसम्म बढाउने गरी हामीले कुराकानी गर्नै कार्ययोजना छ । अर्को कुरा मक्का मदीना र काउण्ट विश्वविद्यालयमा मुस्लिम स्टडिजको लागि नेपाली स्कलरहरु इच्छुक हुनुहुँदो रहेछ, केहीले पढिरहनुभएको पनि रहेछ । त्यसको कोटा पनि अलि बढाउनु पर्छ भन्ने कुरा आएको छ । छात्रवृत्तिको कोटा बढाउन पहल गर्ने भन्ने कार्ययोजना छ । लोकतान्त्रिक मानव अधिकारको पक्षमा पनि कुरा राख्नेछौँ । साथै जलवायु परिवर्तनको सम्बन्धमा पनि इन्टरनेशनल फोरमहरुमा जानकारी गराउँदै जान्छौँ । साउदीमा पनि जानकारी गराउनेछौँ । साउदीको रियादमा नेपाली राजदूतावास भाडामा नै रहेछ । त्यहाँ आफ्नै भवनको लागि विभिन्न स्वीकृति लिएर सुरक्षा स्वीकृतिसँग जोडिएका कुराहरुमा पनि अनुमोदन गर्ने प्रक्रियामा लाग्नेछौँ,सुुवेदीले भने । ’
त्यस्तै अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत कैलाशराज सुवेदीले दुवै देशको उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने बताए । उनले व्यापार अभिवृद्धि र लगानी अभिवृद्धिका बारेमा विशेष पहल गर्ने कार्ययोजना रहेको बताए । पोखरेलले नेपाल र अष्ट्रेलियाबीच सिधा वायु सेवाको बारेमा पनि विशेष पहल गर्ने बताए । उनले पर्यटकहरु र नेपाली विद्यार्थीहरुलाई यसले धेरै सहयोग पुग्ने अपेक्षा राखेको बताए । उनले अष्ट्रेलियाले केही देशहरुमा विद्यार्थीहरुलाई कृषिमा भिसा दिइरहेकोले नेपाली विद्यार्थीहरुलाई दिन विशेष पहल गर्ने बताए ।
‘दुवै देशमा हाईलेभल भिजिटहरु कम देखिन्छ । त्यसैले सम्पर्कसमितिहरुको बैठक बसिरहने वातावरण निर्माण गर्नेछु । व्यापार अभिवृद्धि कसरी गर्ने भन्ने बारेमा पनि वातावरण बनाउनेछु । लगानी अभिवृद्धि कसरी गर्ने भन्ने कुरा निरन्तर रुपमा छलफल गर्नेछौँ । अर्को कुरा भनेको डाइरेक्ट एयर सर्भिस हो । विद्यार्थीहरु पनि यताबाट धेरै गइरहेको र उताबाट पर्यटक पनि ल्याउनु छ । त्यसैले एग्रिमेण्ट साइन भइसकेको छ तर एयरर सर्भिस शुरु भइ नसकेकोले त्यसलाई शुरु गर्न विशेष पहल गर्नेछु । अन्य केही देशले एग्रिकल्चर भिसा पाएका रहेछन्, नेपाली विद्यार्थीहरुलाई पनि पाउने वातावरणमा काम गर्नेछु । साथै वैदेशिक सहायता पनि अष्ट्रेलियाले प्रविधिसहित, उनीहरुको कृषिमा राम्रो छ । त्यसैले कृषिमा प्रविधिसहितको वैदेशिक सहायता लिन पाइयो भने त्यसले हामीलाई सहयोग गर्नेछ, पोखरेलले भने । ’
पोखरेलले अष्ट्रेलिया आसपास रहेका स–साना (भानुआटु, टुभालु, सोलोमन, आइल्याण्ड र सामोआ) जस्ता राज्यका विद्यार्थीहरुलाई नेपालमा अध्ययनको लागि केही छात्रवृत्ति दिएर सम्बन्ध बिस्तार र सुधार गर्ने योजना रहेको पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit