
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।
बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अव सबै महिलाहरुलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउने बताए ।
उनले पहाडका विद्यालयहरुमा महिला छात्रावासको संख्या बढाउने विषयलाई पनि आगामी
आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना प्रस्तुत गरे । विद्यालय तहका छात्रालाई अध्ययन सहज बनाउन पनि सरकारले पहाडका विद्यालयमा छात्रावासको आवश्यकता रहेको उनको भनाइ छ ।
उपाध्यक्ष पौडेलले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताए । उनले महिला सेल बनाएर आयोगले महिलाको हितमा काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।
उपाध्यक्ष पौडेलले महिलाको सुरक्षाका लागि सुरक्षा निकायमा पनि महिलाको सहभागिता बढाउन सरकार लागिरहेको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit