Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सत्तारुढ गठबन्धन बैशाखमै स्थानीय निर्वाचन गर्न ‘मोटामोटी’ तयार 

फाइल तस्बिर

सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।

 

 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।

 

 

संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा निर्वाचन आयोगसँग लगातार छलफल भइरहेको जानकारी दिएका छन् । 

 

 

निर्वाचन आयोगले सरकारलाई बैशाख भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे जानकारी गराउँदै बैशाख १४ गते एकै चरणमा र दुई चरणमा भए बैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गराउनुपर्ने मिति समेत प्रस्ताव गरिसकेको छ । 

 

 

‘आज सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा रामचन्द्र पौडेलजीको संयोजकत्वमा बैठक सम्पन्न भएको छ । बैठकमा मूल रुपमा दुईटा कुरामा छलफल केन्द्रित छ । नम्बर वान, माग १२ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको विजयलाई कसरी सुनिश्चित गर्ने, यसबारेमा छलफल भएको छ । र अर्को, समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । स्थानीय तहको निर्वाचन दसमयमै सम्पन्न गर्ने, जे संविधानमा व्यवस्था छ । सोही अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ । तपाईले उठाउनु भएको प्रश्न जायजै होला’ उनले भने ।

 

 

‘निर्वाचन आयोगसँग परामर्श भइराखेको छ । निर्वाचन आयोगसँग परामर्श भएर हामीले संविधानले तोकेकै समयमा स्थानीय निर्वाचन सम्पन्न गरेर संघीयतालाई अझ मजदुत बनाउँदै र स्थानीय जुन सरकार छ । त्यसले जनतालाई अरु बढि प्रभावकारी रुपमा सेवा, सुविधा पु-याउने कुरामा सरकार गम्भिर छ र समयमै स्थानीय तह निर्वाचन सम्पन्न गराउँछ । सरकारले निर्वाचन आयोगसँग त लगातार छलफल गरिरहेको छ । तपाईहरुलाई जानकारी भईहाल्छ । मैले तपाईहरुलाई भन्न चाहन्छु–समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ’ उनले भने ।

 

 

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीचको उम्मेदवारको विजय कसरी सुनिश्चित गराउने भन्ने विषयमा पनि समितिमा छलफल गरिएको थियो । गठबन्धन दलहरुबीचको उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा विजयी सुनिश्चित गराउने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको उनले बताएका छन् । राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै