Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

नेपाली राहदानीको सम्मान बढाउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री 

 परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । 

 

बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । 

 

उनले देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने भन्दै नेपाल र अन्य धनीमानी भनिने देशहरुलाई एउटै बास्केटमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने बताएका छन् । 

 

‘अब हामीले हामी सरकारमा बसेकाहरु, हामी देश विकास गर्छौ भन्नेहरुले अब यसको सम्मान बढाउने छौँ । यो नेपालीले बोक्दाखेरी या अर्को अलिकति धनीमानी देशका नागरिकले बोक्दाखेरी जुन खालको भेदभावहरु हामीलाई फिल हुन्छ । अब हाम्रो काम समुन्नत नेपाल बनाएर, विकास गरेर, हाम्रो स्वाभिमानलाई, हाम्रो सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनेछ । यो पासपोर्टको टेक्नीकल स्टान्र्डस् त होला, टेक्नीकल इम्पोर्टेन्स् हामीले बढायौँ होला तर यसको रेस्पेक्टाविलिटी अन्तर्राष्ट्रिय जगतमा अन्य धनीमानि भनिएका देशहरुलाई एउटै बास्केटमा राखेर व्यवहार गर्ने खालको त्यो सम्मान यो पासपोर्टलाई थप्नु छ । त्यो सम्मान थप्ने काममा हामी जुट्नु छ ।’ उनले भने ।

 

उनले देशलाई आर्थिक रुपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताउँदै आगामी दिनमा नेपाली नागरिकहरुले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि व्यक्त गरेका छन् ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै