Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सरकारले थप्यो कर बुझाउने म्याद

लकडाउन तथा निषेधाज्ञाका कारण मार्का परेका व्यवसायीका लागि सरकारले कर बुझाउने म्याद असार २५ गतेसम्म थप गरेको छ ।

 

आन्तरिक राजस्व विभागले बुधबार सूचना निकाल्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणको सिलसिलामा भएको निषेधाज्ञाका कारण कर बुझाउन समस्या भएकाले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर दाखिला तथा कर बुझाउने म्याद थप गरेको जनाएको छ ।

 

विभागका अनुसार २०७७ चैत र २०७८ वैशाख महिनाको मासिक तथा द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र दाखिला अवधि २०७८ असार २५ गतेसम्मका लागि थप गरिएको छ । त्यस्तै, सोही अवधिमा बुझाउनुपर्ने अग्रिम कर कट्टी भएको रकम र त्यसको विवरणसमेत असार २५ भित्रमा बुझाउनुपर्ने जनाएको छ । 

 

२०७७ चेत र २०७८ वैशाखभित्रमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण र सोही बमोजिम गर्नुपर्ने दाखिला समेत असार २५ सम्ममा गर्नुपर्ने मिति तोकेको छ । साथै सोही अवधिमा बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउनका लागि पनि २५ गतेसम्मको म्याद दिएको छ ।

 

लकडाउन सकिएको ३० दिनभित्र कर उठाउन दिएको अन्तरिम आदेश मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएपछि सरकारलाई कर उठाउने बाटो खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै