Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

८४.९० अंकले घट्यो नेप्से परिसूचक

साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । 

 


स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो । मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ ।

 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंकले गिरावट आएको छ ।

 


मंगलवार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवार नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

 


नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै,विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ ।

 

लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

 

मंगलवार नेप्से परिसूचक गिरावटसँगै तीन कम्पनीको मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ ।

 

त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ । तर यता सामुदायिक लघुवित्तको शेयरमूल्य भने ५ प्रतिशत बढीले बढेको छ ।

 


मंगलवार कारोबार रकमका आधारमा ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर कम्पनीको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै