Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू

फाइल तस्वीर

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । 

 


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताएका हुन् । 

 

 

“लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ”, उनले भने, “आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।” दोधारा चादँनीको सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमनसमेत गरेका थिए ।

 

 

मन्त्री बडूले सुख्खा बन्दरगाह निर्माण भारतको समेत प्राथमिकतामा रहेको बताए । “ यो नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसँग जोडिएको योजना पनि हो”, मन्त्री बडूले भने । 

 

 

त्यसैगरी दैजी औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने बडूको भनाइ छ । कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा सात अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । 

 

 

“वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुङ्गो लाग्ने चरणमा छ”, उनले भने, “ प्रक्रियामा रहेका विषय र नयाँ बजेटमा सुख्खा बन्दरगाहलाई सम्बोधन हुने विषय एकसाथ टुङ्गोमा पुग्नसक्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार सबै