
होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् ।
शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले यस्तो बताएका हुन् । हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चालन गरेको थियो ।
जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै उनले प्रदूषण घटाउने, जलवायु परिवर्तनको असर न्यूनीकरण गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताए । उनले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताए । उनले २०२४ सम्ममा होटलमा आउनेलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए ।
उनले भने, ‘पहिलो कुरा जुन क्लाइमेट चेन्जको असर छ, त्यसमा प्लाष्टिकको रोल धेरै देखियो । त्यो धेरै लामो समयसम्म माटोमा बसिराख्ने । त्यसले गर्दा हाम्रो राज्यप्रति, जनता,समाजप्रति होटल क्षेत्रको जुन जिम्मेवारी हो ।’
उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुरा केही महँगो भए पनि यसले धेरै फाइदा गर्ने बताए । उनले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराको प्रयोगमा जोड दिने बताए ।
उनले प्लाष्टिक फ्रि सामान पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने बताए । प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमालीय क्षेत्रहरुमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit