Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

चुनाव हार्ने डरले सत्तारुढ दल अतालिएका छन्ः ज्ञवाली 

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् ।

 

गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ । 

 


नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ज्ञावालीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकताबद्ध भएर जाने अवस्था नरहेको बताएका हुन् ।

 

उनले गठबन्धन गर्ने विषयमा देशभरका विभिन्न स्थानमा विवाद देखिएकाले सत्तारुढ दलहरु यो स्थानीय निर्वाचनमा बलियो बन्छ भन्नु भ्रम मात्र रहेको उल्लेख गरे । 

 

ज्ञवालीले सत्तारुढ दलहरु कमजोर भएकाले नै निर्वाचनमा जाँदा अन्य दलको सहारा लिनुपर्ने अवस्था आएको तर्क गरे ।

 

उनले भने, ‘गठबन्धन कुनै शक्तिको, सबलताको, सक्षमताको प्रतीक होइन, यो दुर्बलताको प्रतीक हो । बलियोले लटठी टेक्दैन । बलियोले वैशाखी टेक्दैन ।’

 

उनले यसअघि पनि गठबन्धनसँग लडेरै आफूहरुले ४१ प्रतिशत जित हात पारेको स्मरण गर्दै अबको निर्वाचनमा पनि एमालेले जित हात पार्ने बताए । 

 


उनले सबै तहको निर्वाचनमा एमालेले जित हात पार्ने भन्दै त्यसैअनुसार तयारीमा जुट्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिए ।

 

कार्यक्रममा बोल्दै नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुको विकल्प नरहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै