
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि त्यसको पछि नलाग्न आग्रह गरेका छन् ।
पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका हुन् ।
गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो ।
अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा
महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताए ।
उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए ।
पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीले सकेसम्म राम्रो काम गरेकाले उनीलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाइ थियो । उनले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीलाई आगामी दिनमा सम्मान गर्ने पनि बताए ।
अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit