Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन सरकारले प्रयास गरिरहेको छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

 

२४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताएका हुन् । 

 

उनले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरुले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताए । मन्त्री खाणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानीलाई कम गर्न सकिने बताए ।

 

‘हामी सबै विषम परिस्थितिमा छौँ । कोरोनाको तेस्रो लहरको कारण नेपाली जनता अहिले आक्रान्त भएका छन् । सरकारसहित सबै निकायले आम नेपालीहरुको जीवन रक्षाका लागि संक्रमणको रोकथाम, व्यवस्थापन गरिरहेका छौँ । स्थानीय जनप्रतिनिधिहरुलाई निर्माणको हाम्रो प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न अनुरोध गर्दछु । यो गर्न सके विगतमा भएका ठूला नोक्शानीलाई रोक्न सक्छौँ । व्यवस्थापन गर्न सक्छौ,’ उनले भने ।

 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताए । उनले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो समेत गरे । 

 

मेयर शाक्यले टेको लगाएर राखिएका भवनहरु वर्षा हुँदा समेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गरे । ‘समन्वय नहुँदा अहिले पनि केही मठ मन्दिर, केही त्यस्ता संरचनाहरु टेको लागेका छन् । कसले बनाउने, गुठीले बनाउने कि ? पुरातत्वले बनाउने कि, महानगरले बनाउने ? भन्ने दोधार छ,’ उनले भने ।

 

‘सरकार र स्थानीय सरकारबीच समन्वय नहँुदा, पुरातत्व गुठी संस्थानसँग समन्वय नहुँदा लालपूर्जा एकसँग हुने उसले नबनाउने । हामीलाई पनि बनाउन नदिँदा त्यस्ता भवनहरु रहेका छन् । अहिले पनि भूकम्प नजाँदा पनि सामान्य वर्षा हुँदा पनि भत्किन सक्ने भएकोले त्यस्ता भवनहरु बनाउन अत्यावश्यक भइसकेको छ,’ शाक्यले भने ।

 

मेयर शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग संघ सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै