Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सभापतिसंग हामी सहकार्य र संघर्ष गर्छौं : गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गर्दै अघि बढ्ने बताएका छन् ।

 

आज शेखर कोइराला समूहले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले देउवालाई दुबै चरणमा मत नदिएको बताएका छन् । साथै  निर्वाचित भएपछि उनी कांग्रेस नेताहरु र कार्यकर्ताहरुको सभापति भएको पनि बताएका छन् । उनले पार्टीलाई मजबुत र फराकिलो बनाउन सभापतिलाई साथ दिने बताउँदै पार्टीलाई विधि पद्धति अनुसार सञ्चालन नगरे निरन्तर दबाव दिने पनि बताएका छन् । अघिल्लो कार्यकालमा गुटको बैठक गरेको स्मरण गराउँदै उनले यो पटक त्यसो नगर्न चेतावनी दिएका छन् । उनले कांग्रेसको सभापति भएर काम गर्नुपर्ने गुटको भएर होइन भन्ने विषयलाई पनि जोड दिएका छन् ।

 

उनले ओलीवेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताएका छन् । उनले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर कांग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने पनि बताएका छन् । 

 

‘निर्वाचनको बेलामा हिजो करिव करिब सम्माननीय प्रधानमन्त्री ज्यू निर्वाचनको प्रारम्भबाट अन्तिम मत हाल्ने बेलासम्म त्यस्तो चिसो स्याँठ चलेको बेलामा पहिला कोट, कोटमाथि ओभरकोट थपेर भएपनि ५ घण्टा लाइन लागेर बस्नुभयो । एउटा एउटा मतदातालाई हात जोड्नुभयो । सेल्फी खिच्नुभयो । बसिराखेको ठाउँबाट एउटा मतदाता आयो कि जुरुक्क उठ्नुभयो । म पनि यता सँगै बसेर डा. शेखर कोइरालालाई मत मागिरहेको थिएँ’ उनले भने ।

 

‘मेरो मनभित्र त्यो बेलामा २ वटा कुराहरु खेलिरहेको थियो । उहाँको मनभित्र डर चाँहि रहेछ । कतै दोस्रो चरणमा चिप्लिने हो कि भन्ने । त्यसैले एकजना मतदाता पनि छोड्नुभएन । सँगै अर्को पनि सोचेँ । यस्तै अधिवेशन केही समयअघि नारायणीको किनारमा पनि भएको थियो । पूर्वप्रधानमन्त्री त्यो बेलामा शानले एउटा रिसोर्टमा बस्नुभएको थियो । अरु सबै नारायणी किनारमा घाममा सेकिएर बसेका थिए । कतिखेर निस्कनुभयो, बगलीबाट एउटा लिस्ट निकाल्नुभयो पढ्नुभयो, सुनाइदिनुभयो  अधिवेशन सकियो । तर हाम्रो अधिवेशनको फरक बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुप-यो । हात जोड्नुप-यो, मत माग्नुप-यो । त्यो मैले भन्ने गरेको ओलीवेशन र अधिवेशनको फरक यही नै हो’ उनले भने ।
 

 

सभापतिमा चुनाव नजिते पनि शेखर कोइरालाले ४० प्रतिशत मत पाएको उल्लेख गर्दै त्यसको जिम्मेवारी लिएर केही वर्ष क्रियाशील हुन पनि उनले कोइरालालाई आग्रह गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै