
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाण्डौमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा बोल्दै उनले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बन्नु भएको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामना पनि गरेका छन् । उनले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादा उत्रने चेतावनी समेत दिएका छन् ।
आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्डा नलिएको भन्दै उनले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जित भएको दाबी समेत गरेका छन् । उनले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैबाट उनीहरुको घरदैलोमा पुगेर आगामी महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वास समेत व्यक्त गरेका छन् ।
‘सबैभन्दा पहिले त शेरबहादुरजी जो हाम्रो पार्टी सभापति पनि हुनुहुन्छ । उहाँलाई बधाईँ दिन चाहन्छु । साथै उहाँको चार वर्षको कार्यकालको सफलताको पनि कामना गर्दछु । उहाँसँगको प्रतिस्पर्धाको नेपाली काँग्रेसको यो आन्तरिक लोकतन्त्र हो । आन्तरिक लडाई हो हामीहरुको । स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनु भएको छ । विजयी भईसकेपछि अव उहाँको टिम कस्तो आउँछ, हाम्रा साथीहरु कति जित्नु हुन्छ ? त्यो त मतगणना पछि निर्णय गर्नेछ । तर जसरी साँढे पाँच वर्ष पार्टी व्यथितिको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौं । म पराजय भए । निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ । त्यो स्वभाविक हो । मैले यसलाई एकदमै स्वभाविक रुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन’ उनले भने ।
‘कसले के ग-यो ? कसो ग-यो, किन ग-यो भन्ने पनि मेरो मनमा छैन । किनभने पार्टी भित्र कसले मलाई सर्पोट गर्नु भयो, कसले गर्नु भएन, के भयो, कसो भयो ? त्यो आफ्नो ठाउँमा छ । तर यो पराजयमा सबभन्दा राम्रो कुरा मैले के देखे भने–नेपाली कांग्रेसका तपाईजस्ता साथीहरु, लोकतन्त्रप्रेमी नेपाली कांग्रेसलाई माया गर्ने साथीहरु र आम जनताले हामीले लिएको कदम, हाम्रो टिमले लिएको कदमको विजयी उहाँहरुले सोच्नु भएको छ । त्यसकारण पनि हामी विजयी भएको छौं भन्ने मलाई लाग्छ । हाम्रो राजनीतिक जुन मुद्धाहरु छ । जुन एजेण्डाहरु छ । त्यो अब स्थापित भएको छ । संगसँगै युवा पुस्ताको लागि नेपाली कांग्रेस भित्र अवसरै अवसर खोलिदिएका छौं । अब तपाईंहरु निश्चिन्त ढंगले गाउँघरमा बस्दाखेरी ढुक्कले म नेपाली कांग्रेसको हुँ भनेर तपाईहरु बस्न सक्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।
‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणका लागि लागि सकेको छु । निरन्तर रुपमा तपाईंहरुको घरदैलोमा पुग्नेछ । र मेरा टीमका साथीहरु पनि तपाईँहरुको घरदैलोमा पुग्नु हुनेछ । र आगामी अधिवेशनमा हामीहरु सफलता प्राप्त गर्नेछौं भन्ने विश्वास पनि लिएको छु । हामीहरु भागबण्डाको राजीनीतिमा लाग्दैनौं । गुटबन्दीको राजनीतिमा हामी लाग्दैनौं । हामी हाम्रो काम गर्दै जान्छौं । राम्रो काम गर्दै गयौं भने पक्कै पनि आफै उहाँहरुलाई सोच्न बाध्य बनाउँछौ भन्ने कुरा तपाईंहरुको माझ राख्न चाहन्छु । अन्तमा प्रतिनिधि साथीहरुले महाधिवेशनमा अत्यन्त मेहनत, अत्यन्त जुझारुपन वडादेखि देखाउँदै यहाँसम्म आउनुभयो । र तपाईहरुले जुन मेहनत गर्नुभयो । जुन मलाई माया दिनुभयो । सम्मान दिनुभयो, इज्जत दिनुभयो । त्यो म कहिल्यै पनि बिर्सन सक्ने छैन । यही तपाईहरुले जुन माया दिनु भएको छ । यो मायाले मेरो राजनीतिक यात्रा फेरी नयाँ ढंगले सुरु गर्छु’ उनले भने ।
उनले आफूलाई माया, इज्जत, मान र प्रतिष्ठा दिएको भन्दै महाधिवेशनका प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा त्यो मायालाई कहिल्यै नबिर्सने बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit