
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन् ।
आज जनकपुर पुग्नुभएकी मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन् । ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउने तर्फ लागेको भन्दै उनले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नु हुन्छ कि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताएकी छन् । ओलीले आफूले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उनको भनाइ छ । उनले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानुन निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उनले उल्लेख गरेकी छन् ।
‘केपी ओलीलाई संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्यत हुनुहुन्छ । त्यसकारण आज हामीले ७० वर्ष लडेको, ७ दशकको इतिहास ओलीजस्ता अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नु हुन्छ कि हुँदैन भन्ने बहस गराउनुपर्छ समाजमा । त्यसकारण उहाँहरुले त यसको औचित्य, आफुले विघटन गरेको असंवैधानिक मात्रै होइन, अपराधिक क्रियाकलाप हो संसद विघटन गर्ने । त्यसलाई पुष्टि गर्नको लागि उहाँले संसद चल्न दिनुहुन्न । तर सरकारले चाह्यो भने संसदमा आफ्नो बिजनेश गर्छ । हामीलाई आवश्यक कानूनहरु निर्माण गर्नुपर्ने, आवश्यक नीति लिनुपर्ने ठाउँमा सरकारले आफ्नो स्टेप लिन्छ’ उनले भनिन् ।
उनले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप लगाएकी छन् । एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाइ छ ।
‘कांग्रेसको जत्तिको पनि लोकतान्त्रिक अभ्यास गरेन कि केपी ओलीको खल्तीबाट, पार्टीको सदस्य नै नभएका, पार्टीको सदस्य भएर पनि महाधिवेशन प्रतिनिधि हुने योग्यता नपुगेका मान्छेहरु धमाधम पार्टीको केन्द्रीय कमिटीमा मात्रै होइन, पदाधिकारीमा समेत, पोलिटव्युरोमा समेत उहाँहरुको भर्ती केन्द्र गरेर एकप्रकारले दक्षिणपन्थी विर्सजनवादी बाटोमा केपी ओली नेतृत्वको पार्टी छ भनेर हामीले भन्दै गरेको कुरा उहाँहरुले दशौँ महाधिवेशनबाट पुष्टि गर्नुभाछ’ उनले भनिन् ।
उनले एमाले निरन्तर ओरालो लागेको जिकिर गरेकी छन् । मन्त्री झाक्रीले श्रमजीवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा एकीकृत समाजवादी भएको दाबी पनि गरेकी छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit