Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

देशमा समाजवादको यात्रा सुरु गर्न माओवादीको विकल्प छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।

 

आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै उनले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् । उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताएका छन् । 

 

उनले बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताएका छन् । उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभई, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी पनि  गरेका छन् ।

 

‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनको लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पु¥याउने, समाजवादको यात्रा शुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन । मानिसहरुलाई कहिलेकाहीँ भ्रम पर्छ, अरुले पनि गर्छन् कि भनेको जस्तो, जो हिजो गणतन्त्रकाबिरुद्ध लागे ति अहिले पनि गणतन्त्रबिरोधि नै छन्, जो हिजो संघीयताको बिरुद्ध लागे त्यो अहिले पनि संघीयताका विरुद्धै छन्, महिलालाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन् । दलितहरुलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन्’ उनले भने ।

 

‘यो सबै चिज माओवादी आन्दोलनकै परिणाम भएको हुनाले माओवादी बलियो हुँदा यी सबै परिवर्तन र उपलब्धिहरु बच्छन् पनि, तिनको रक्षा पनि हुन्छ र थप उपलब्धिको निम्ति अघि जान सकिन्छ । माओवादी कमजोर भयो भने हामीले देख्यौँ नि कति छिटो, अलिकति माओवादी विभाजन भएको देख्दा, माओवादी संगठन भएको कि भन्ने लागेपछि त संविधान नै मिच्ने, च्यात्ने, जहाँ समावेशी, समानुपातिक छ त्यसलाई हटाउने, गणतन्त्रै उल्ट्याउन खोज्ने, हिजो मात्रै एउटा राप्रपाको अधिवेशनमा एउटा आफूलाई पुरानो कम्युनिष्ट भन्ने मान्छे त पूरै राजाको प्रशंसा गरेर राप्रपा मात्रै देशभक्त भनेको जस्तो गरे, मैले उनलाई तिमी त राप्रपाको अध्यक्ष हुने तयारी गरेछौ भने, यस्ता पनि कम्युनिष्ट छन्, नाम कम्युनिष्ट छ, काम सामन्तीको जस्तो गर्छन् । त्यसकारण माओवादी केन्द्र बलियो बनाउने यो परिवर्तनको रक्षाको लागि मात्रै होइन, राष्ट्रकै रक्षाको लागि, राष्ट्रिय एकताको रक्षाका लागि सबै उत्पीडित वर्ग, समुदायको हक अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प नेपालमा छैन’ उनले भने ।

 

उनले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गर्दै नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताएका छन् । उनले मधेशी जनताको, दलित, जनजातीहरुको हकहीतको कुरालाई लिएर आफूले संविधान संसोधनको प्रश्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संसोधन हुन नसकेको उल्लेख गरेका छन् । उनले नेकपा एमाले जनजातीको, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचानको बिरोधी रहेको आरोप समेत लगाएका छन् ।

 

‘मधेशमा अलि ठूलो भ्रम थियो, के भ्रम दिने कोशिस गरियो भने माओवादीले संघीयता छोड्यो । जुन माओवादीले संघीयताको निम्ति हजारौँको बलिदान ग¥यो, त्यही माओवादीलाई त्यस्तो झुटो आरोप लगाएर तथाकथित मधेशवादी पार्टी बनाएर अनि यिनीहरु हुन् मधेशको मुक्ति गर्ने भनेको जस्तो गरी जो बास्तवमा मधेशी जनताको बिरोधी, त्यहाँका मजदुर, किसान बिरोधी, त्यहाँका, दलित, मुस्लिम बिरोधी, जो शक्ति हो, तिनीहरुलाई मधेशको मशिहा जस्तो गरेर प्रश्तुत गर्ने कोशिस भयो’ उनले भने ।

 

‘अनि मैले संविधान संशोधन प्रश्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रश्ताव पारित नभएको हो । तपाईहरुलाई थाहा छ, एमालेको केपी गुट जनजातीको बिरोधी छ, दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको बिरोधी छ, उसैको कारणले संविधान संसोधन नै भएन तर अहिले कतिपय जसले तपाईहरुलाई भ्रम दिए ओर्जिनल त अग्र्यानिक एमाले केपी गुटकै मान्छे थिए । बीचमा म सचिन्छु, म माओवादी हुन्छु भनेर पनि आए, तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखेपनि बाँगाको बाँगै भनेजस्तो फेरि एमालेको केपी गुटमा नै गए’ उनले भने ।

 

उनले देशभर अहिले झन्डै ८ लाख सदस्यहरु नेकपा माओवादी केन्द्रमा नवीकरणमा आइसकेको भन्दै अझै केही समय पाएमा त्यो संख्या १० लाख पुग्ने दाबी समेत गरेका छन् । उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको पनि बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै