
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा पुगेर अविलम्ब खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेको हो ।
जनताको जीवन नै धान्न नसक्ने गरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खोरेज गर्न माग गर्दै विरोध प्रर्दशन गर्नु परेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । उनले सो मूल्यवृद्धि तत्काल खारेज नभए जन आन्दोलनको आँधीबेहरी सिर्जना गरी वर्तमान सरकार नै ध्वस्त पारिदिने चेतावनी दिए ।
विरोध प्रर्दशनमा उत्रिएकाहरुले ‘जनता मार्न पाईदैन, मूल्यवृद्धि चाहिँदैन,’ ‘मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit