
युक्रेनले रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म उसका करिब २० हजार सैनिक मारिएको दाबी गरेको छ।
शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो जानकारी दिएको हो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार यो युद्धको क्रममा रुसले ठूलो क्षतिको सामना गरेको छ।
अहिलेसम्म रुसको ७५६ सैन्य ट्यांक ध्वस्त पारेको युक्रेनको दाबी छ । त्यस्तै झण्डै २ हजार बख्तरबन्द गाडीहरु/एपीभी ध्वस्त भएका छन् ।
६६ ओटा हवाई सुरक्षा प्रणाली तथा १६३ लडाकु विमान पनि यो अवधिमा ध्वस्त पारेको युक्रेनले बताएको छ । रुसका ८ ओटा जहाज तथा डुङ्गाहरु ध्वस्त हुँदा ७६ ओटा इन्धन बोकेका ट्यांक ध्वस्त पारेको युक्रेनले बताएको छ ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ५० दिन पूरा भइसकेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो अवधिमा मुलुकलाई बचाउन लड्ने नागरिकप्रति सम्मान व्यक्त गरेका छन् ।
जेलेन्स्कीले जर्मनीले र हंगोरीले रुसको तेल आयातमा प्रतिबन्ध नलगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले रुसमाथि प्रतिबन्ध नलगाउँदा रुसलाई यस वर्ष ३ खर्ब २६ अर्ब डलरसम्मको फाइदा हुन सक्ने जेलेन्स्कीको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit