Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कांग्रेसका सबै गुट एमसीसीका विषयमा भए एकजुट 

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् । 

 

 

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत जानकारी दिए । 

 


नेता कोईरालाले भने, ‘रामशरण महतज्यूले एमसीसी नेपालको लागि राम्रो हो भनेर ब्रिफिङ गर्नुभयो । ९ वटा देशमा त्यस्तै कार्यक्रमहरु चलिरहेको छ । त्यहाँ कुनै अमेरिकाको सेनाहरु पनि आएका छैनन् । यसको रेखा नेपाल सरकारले गर्ने हो भन्ने छ । भोलिको बैठकमा पेस हुनसक्ने सम्भावना छ । बैठकको निस्कर्ष निस्किसकेको छैन । तर एमसीसी पास गर्नुपर्छ भन्ने कुरा हो । बैठकमा रामशरण महतजीले नेपालको लागि एमसीसी राम्रो हो । यहाँ अमेरिकाको सेना आउँदैन, उसले यहाँ हस्तक्षेप गर्दैन भन्ने कुराहरु राख्नुभएको छ ।’

 

 

त्यस्तै पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए । उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए । 

 


नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए । उनले एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानून अनुसार सम्झौता गरिएको बताए । उनले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताए । नेता महतले एमसीसी सहयोग कुनै पनि मुलुकको हित विपरित नभएको दाबीसमेत गरे ।

 

 

नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताइन् । उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने धारणा राखिन् । उनले अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्र्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने बताइन् । उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताइन् । 

 

 

नेतृ कोईरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताइन् । उनले नेपाललाई एमसीसीले कब्जा गर्न नसक्ने बताइन् ।  

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै