Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

पुँजी बजारबारे प्रचण्डको अभिव्यक्तिविरुद्धमा शेयर लगानीकर्ता 

फाइल तस्बिर

इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् ।

 

पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनी अध्यक्ष प्रचण्डले केही दिन अघि दिनु भएको अभिव्यक्ति बिडम्बनापूर्ण भएको पूर्वअध्यक्ष पौडेलले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पुँजीबजारलाई अर्थतन्त्रको ऐना हो भनेर पेशा नै बनाएर लाग्ने लगानीकर्ताको लागि ‘प्रचण्ड’ले पुँजीबजारमा लगानी गर्नु साम्राराज्यवादको विकसित रुपको टिप्पणी गर्नु बिडम्बनापूर्ण अभिव्यक्ति भएको बताएका छन् । उनले उद्योग व्यवसाय गर्न आवश्यक पुँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी संकलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि प्रचण्डको अभिव्यक्ति विल्कुल गलत तथा समय सान्दर्भिक नभएको बताएका छन् । 

 

उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरुले पुँजीबजारको आवश्यकता हो की होइन भन्ने विषयमा बहस तथा छलफल गर्न आवश्यक भएको तर्क राखेका छन् । उनले यस्तै हो भने अब पुँजीबजारलाई पुँजीबजार कै रुपमा तथा स्वतन्त्र चल्न दिनुपर्ने बताएका छन् । उनले सरकार नियामक निकाय तथा ठूला नेताहरुलाई नै पुँजीबजारको सामान्य नियम नै नबुझेकाले अहिलेको अवस्था आएको बताएका छन् । उनले अब सबैलाई बुझाउने काम लगानीकर्ताको नै काँधमा आएको बताएका छन् । 

 

‘शेयर बजारलाई पेशा नै बनाएर, पुुँजीबजार नै अर्थतन्त्रको ऐना भनेर शेयर बजार २० वर्षदेखि लागेका छन् । पुँजीबजारले उद्योग व्यापार व्यवसायका लागि आवश्यक पुँजी तथा छरिएर रहेको पुँजीलाई संकलन गर्न सक्छ र उद्यमशीलताको विकास पुँजीबजारले गर्दछ भन्ने मान्यता राख्नेहरुलाई प्रचण्डको भनाई विल्कुल गतल हो । यसरी बोल्नु समय सापेक्ष पनि छैन । उहाँले कुन परिवेशमा कसरी बुझ्नु भयो र भन्नु भयो । उहाँले नै बुझ्नु भयो होला । तर मलाई के लाग्छ भने नेताहरुका पछिल्लो अभिव्यक्तिहरु पुँजी बजारको मर्म कसैले बुझेको जस्तो छैन । त्यसैले अब पुँजीबजारको विषयमा वहस गर्ने बेला आएको छ । नेपालको लागि पुँजी बजार आवश्यकता हो कि होइन । पुँजीबजार नचाँहिने नै हो । पुँजी बजारले मुलुकको अर्थतन्त्रलाई राम्रो गर्दैन भने यो विषयमा वहस गर्नु आवश्यक छ । होइन भने पुँजीबजारलाई पुँजीबजारकै रुपमा तथा स्वतन्त्र चल्न दिनुपर्छ । पुँजी बजारको विकासको लागि काम गर्नुप-यो’ उनले भने ।

 

‘सरकारले साच्चीकै पुँजीबजारको विकास, बिस्तार तथा  व्यापकताको लागि र पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि काम गर्नु पर्ने थियो । तर, सरकारले पुँजीबजारको सामान्य नियम  नै बुझेको छैन । अब हामीले बुझाउनु पर्छ । यसमा हाम्रो पनि थोरै कतै कमीकमजोरी छन् । पुँजीबजारलाई पुँजीबजारकै रुपमा चलाउन नसकेको परिणाम अहिले लगानीकर्ताले भोगिरहेका छन्’ उनले भने ।

 

उनले पछिल्लो ७३ दिनमा नेपाली शेयर बजारको पुँजी ३० प्रतिशतले घटेको जानकारी दिएका छन् । उनले बजारमा पुँजी बिस्तारको हिसाबले हेर्ने हो भने यो अवधिमा  १२ अर्ब ३० करोडको नोक्सानी भएको बताएका छन् । पछिल्लो समय लगानीकर्ताले प्रत्येक दिन १६ अर्ब ६६ करोड रुपैयाँ नोक्सानी भोगिरहेको उनले बताएका छन् । उनका अनुसार नेपालको इतिहासमा छोटो समयमा शेयर बजार यति धेरै घटेको पहिलो पटक हो । उनले शेयर बजार घट्नु तथा बढ्नु लगानीकर्ताले स्वाभाविक रुपमा लिनु पर्ने बताएका छन् । 

 

त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रचण्डको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरित भएको बताएकी छिन् । उनले शेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताएकी छन् । उनले पछिल्लो समय शेयर बजार पुँजीपति वर्गले मात्रै नभएर रोडमा बसेर साग बेच्ने, घरैमा बसेर एउटा घर गृहिणी र विद्यार्थीको लागि समेत भएको बताएकी छन् । प्रचण्डले दिएको अभिव्यक्ति शेयर लगानीकर्तालाई साँढेको जुधाईमा बाच्छाको मिचाई जस्तै भएको उनको टिप्पणी थियो । ४६ लाख लगानीकर्ताको आम्दानीको स्रोत नै पुँजी बजार भएकाले पुँजीबजारलाई लक्षित गरेर  टिप्पणी गर्नाले माओवादीको भोटमा समेत असर गर्ने सक्ने बताएकी छन् । 

 

‘नेतृत्व तहमा बसेका व्यक्तिले शेयर बजारका विषयमा गलत टिप्पणी गर्नु लगानीकर्ताको मर्म विपरित हो । विगत लामो समयदेखि माथिल्लो तहमा बस्ने व्यक्तिहरुले शेयर बजारको विषयमा नकारात्मक कुराहरु बोल्ने गरेका थिए । जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शेयर बजारलाई जुवा घरको संज्ञा दिएका थिए । भने पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले शेयर बजार अनुत्पादनको क्षेत्र हो भन्ने गरेका थिए । शनिबार माओवादीका अध्यक्ष प्रचण्डले शेयर बजार पुँजीपतिहरुले मात्रै गर्ने हो भन्नु गलत हो । प्रचण्डले यो बुझ्नु भएन की शेयर बजार शेयर बजार सेन्टिमेन्टमा चल्ने बजार हो । यसरी अहिले नीतिगत तहमा बस्नेहरुले विभिन्न समयमा यस्ता अभिव्यक्ति आउँदा शेयर बजार साच्चै जुवाघर रहेछ की लगानी गर्ने वातावरण नभएको बताउन थालेका छन् । नेतृत्वले यस्तो बोल्दा बजारमा कसरी नीतिगत सुधार हुन्छ’ उनले भनिन् ।

 

‘लगानीकर्तालाई अहिले बजार हाम्रो लागि नभएको लागेको छ । अहिले कुनै राजनीतिक दलहरुसँग १० लाख पनि सदस्य छैनन् । तर, शेयर बजारले यस्तो स्थिति बनाएको छ की ४५ लाख भन्दा बढी लगानीकर्ता भएका छौं । लगानीकर्ताहरुले नै एउटा राजनीतिक पार्टी खोल्न सक्ने अवस्थामा छौं । लगानीकर्ताको प्रतिनिधित्व गर्दै सरकारमा जान सक्छौं ।  हामीलाई हेपाह प्रवृत्तिले भोलिको दिनमा राजनितीक दललाई नै असर गर्दछ । तर लगानीकर्ताले जस्तोसुकै परिस्थिति आए पनि मन बलियो बनाउनु जुरुरी छ । प्रचण्डलाई शेयर बजारको विषयमा कुनै ज्ञान छैन । अर्थमन्त्रीलाई समेत शेयर बजारको विषयमा ज्ञान छैन । अर्थशास्त्रको विद्यार्थी नै म होइन । मलाई अर्थशास्त्र जान्नु पनि छैन । भन्ने अभिव्यक्ति आउने गरेको छ । यो सबै अबुझ पन हो । जुन कुराको ज्ञानै छैन, त्यो कुरामा किन बोल्नु हुन्छ’ उनले भनिन् ।

 

उनले शेयर बजारमा निरन्तर रुपमा विभिन्न तहबाट हुने प्रहारले लगानीकर्ता शेयर बजारबाट बाहिर निस्कन थालेको बताएकी छन् । उनले नीतिगत तहमा बस्नेहरुले पुँजीबजारलाई नकारात्मक रुपमा बुझ्दा बजार निरन्तर रुपमा तीन महिनादेखि घटिरहेको पनि बताएकी छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै