Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा

शेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ ।

 

 

पछिल्लो समय निरन्तररुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो ।

 

 

साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । यो भन्दा अघि २०७७ पुस २३ गते नेप्से परिसूचक २१९४.४८ विन्दुमा कारोबार भएको थियो । त्यस्तै, यता सेन्सेटिभ इण्डेक्स ५.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंकले घटेको छ ।

 

 

सोमबार कारोबारमा आएका २२४ कम्पनीको ३९ लाख १७ हजार कित्ता शेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक उच्च अंकले गिरावट आए पनि अघिल्लो कारोबारको तुलनामा कारोबार रकम बढेको छ ।

 

 

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ ।  जसमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । त्यस्तै, बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

 

 

सोमबार नेप्से परिसूचक गिरावट आए पनि २० कम्पनीको शेयर मूल्य बढेको छ । जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.२० प्रतिशत बढेको छ । प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.२६ प्रतिशत बढेको छ । तर यता, मिथिला लघुवित्तको शेयरमूल्य ५.८९ प्रतिशत घटेको छ ।

 

 

कारोबार रकमका आधारमा ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै