Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एमालेभित्र पनि ८० प्रतिशतभन्दा धेरै इमान्दार कम्युनिष्ट छन्ः प्रचण्ड 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र पनि ८० प्रतिशतभन्दा धेरै नेता इमान्दार भएको बताएका छन् ।

 

बिहीवार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै दाहालले एमालेका सबै नेता खराब छन् भन्ने सोच्न नहुने बताए ।

 

उनले भने, ‘एमालेका सबै खराब छन् भन्ने पनि सोच्नु हुँदैन । एमालेभित्र हामीले ३ वर्ष बसेर हेरेका छौँ नि । त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार नै कम्युनिष्ट छन् । क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्छन् ।’ 

 

प्रचण्डले नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी कब्जा माओवादीले गर्ने पनि बताए । 

 


दाहालले नेकपामा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षडयन्त्र भएको आरोप लगाएका छन् । तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह शुरु भएको प्रचण्डको भनाइ छ । 

 


प्रचण्डले एमालेको नेतृत्वले पार्टीका नेताहरुलाई प्रतिक्रान्तिकारी र प्रतिगमनको बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए । उनले त्यस्ता नेतालाई मुक्त गरेर आफ्नो पार्टीमा सामेल गर्नुपर्नेमा उनले जोड दिए । 

 


प्रचण्डले अहिले केही शक्तिहरु माओवादीको सबै उपलब्धि मेट्ने पक्षमा लागेको भन्दै सबै माओवादी एक हुनु आवश्यक रहेको उल्लेख गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै