
काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गरिन् । कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्दै कांग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन उनले आग्रह गरिन् ।
‘म आफू जित्छु भनेर ढुक्क छु । हाम्रो पार्टी नेपाली कांग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछ । आर्थिक उन्नति गर्छ,’ उनले भनिन् ।
मेयरका अर्का उम्मेदवार केशव स्थापितले वागबजार स्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गरे । आफ्नो जित पक्का भइसकेको र नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन आतुर रहेको उनको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार मदनदान श्रेष्ठले डिल्लीबजार, पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयबाट मतदान गरे ।
मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफूले जित्नेमा ढुक्क रहेको बताएका छन् । गैरीगाउँस्थित केन्द्रमा मतदान गरेपछि उनले आफूले पाउने मत अरु बढ्ने समेत दाबी गरे । उनले भने, ‘अरु कसैले हार्नेभन्दा पनि हामीले जित्ने हो, मेरो प्रतिस्पर्धा कसैसँग होइन । म नगरबासीको काम गर्न मेयरमा उठेको हुँ ।’
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गरिन् । स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहीत रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताइन् ।
काँग्रेसका नेता प्रकाशमान सिंहले पकनाजोलमा मतदान गर्दै शासकलाई नभई सेवकलाई छानेर भोट हाल्न आग्रह गरे । अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौति रहेकोले मतदाताहरुले रोजेर आफूलाई योग्य लागेका व्यक्तिलाई मत दिएर जिताउनेछन् भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit