Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

आइभीएफको इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक

काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभीएफ) सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ । 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभीएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो । 

 

 

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेसी(आइभीएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदन उपर सुनुवाइ भएपछि सचिवस्तरको निर्णयबाट नर्भिकलाई आइभीएफ सेन्टर संचालनको इजाजत दिइएको हो । 

 

 

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आइभीएफ सेन्टर सञ्चालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । 

 

 

‘यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आइभीएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजत प्राप्त थिए । तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आइभीएफ सेन्टर सञ्चालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो’ उनले भने ।  

 

 

नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आइभीएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा सञ्चालन गर्दै आएको छ । सुविधासम्पन्न र आधुनिक आइभीएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । नर्भिक आइभीएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आइभिएफ सेन्टर पनि हो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै