
संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र छपाइ सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो ।
छापिएको पुस्तक पनि तत्काल विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
समितिले ३५ लाख बाँकी पुस्तक छपाइको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि
काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ ।
समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाईको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।
सरकारी विद्यालयमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाइको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताइन् ।
त्यस अवसरमा सभापति घर्तीले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालयहरुनै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit