Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आन्दोलन जारी रहन्छ : कानुनव्यवसायी 

नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् । 

 

 

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आफूहरुको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताएका छन् ।

 

 

आइतबार नेपाल बार एशोसिएशन परिसरमा कानुन व्यवसायीहरुमाझ सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्यापक छानबिन हुनुपर्ने माग गरेका छन् । उनले न्यायालयमा सुधारका थुप्रै कामहरु भएको र त्यो नभएसम्म आफूहरुले आन्दोलन नरोकिने पनि स्पष्ट पारेका छन् । 

 

 

‘हाउसमा जो दर्ता भएको महाअभियोग पत्र हो । त्यसमा व्यापक रुपमा छानवीन हुनुपर्छ । बिचौलियाहरुलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ । हामीले न्यायपालिका सुधारका लागि आन्दोलन गरेका छौं । चोलेन्द्र आज निलम्बित भएको छ । न्यायपालिका सुधारको ढोका खुलेको छ । यो ढोका खुलेको मात्रै हो । सुधारको थुप्रै कार्यक्रमहरु बाँकि छन । आन्दोलन अझ सशक्त रुपमा अघि बढनेछ । जबसम्म सही रुपमा अर्को प्रधानन्यायाधीश आउँदैन, जबसम्म अर्को प्रधानन्यायाधीशले सुधारको कार्यक्रम अगाडि बढाउँदैनन्, तबसम्म नेपाल बारको आन्दोलन निरन्तर जारी रहन्छ’ उनले भने ।

 

 

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष शाक्यले जबरा पदच्युत नभएसम्म आफूहरुको आन्दोलनले जारी रहने बताएका छन् । उनले जबरा निलम्बित प्रधानन्यायाधीश भएको र उनले संविधान अनुसार सर्वोच्चको गेटमा समेत प्रवेश गर्ने अनुमति नपाउने दाबी समेत गरेका छन् । 

 

 

 

‘आज उहाँविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको खवर हामीले पायौं । कानुनतः संविधानतः २५ प्रतिशत सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछि प्रधानन्यायाधीश निलम्बनमा जान्छ । त्यो दर्ता भएको खवर पाईसकेपछि अब प्रधानन्यायाधीशले यो गेट प्रवेश गर्ने उहाँलाई कुनै अनुमति छैन । उहाँ अब निलम्बित प्रधानन्यायाधीश हो । अव उहाँले झण्डा फहराउन पाउनु हुन्न । अब उहाँले सेक्यूरिटी गार्ड पाउनु हुन्न । अब उहाँले यो गेटबाट प्रवेश पाउनुहुन्न । यो उहाँका लागि निषेधित क्षेत्र भईसकेको म अनुरोध गर्न चाहन्छु । उहाँलाई बर्हिगमनबाट होस्, राजीनामाबाट होस् वा महाअभियोगको प्रक्रियाबाट होस् । उहाँ पदच्यूत भएर अर्को प्रधानन्यायाधीश विधिवत रुपमा नियुक्त भएर सपथग्रहण नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ’ उनले भने ।

 

 

 

विरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्वअध्यक्षद्धय हरिहर दाहाल र शम्भु थापाले न्यायपालिकाको सुधार नभएसम्म आन्दोलन जारी राख्न बारको नेतृत्वलाई आग्रह गरेका छन् । 

 

 

वरिष्ठ अधिवक्ता समेत रहेका दाहालले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउनका लागि पनि कानुन व्यवसायीहरुको छाता संगठन बारको आन्दोलनले निरन्तरता पाउनुपर्ने बताएका छन् । 

 

 

‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर विरुद्ध महाअभियोग दर्ता भएको छ । महाअभियोग दर्ता भईसकेपछि त्यसका निश्चित प्रक्रियाहरु हुन्छन । छानवीन हुन्छ । छानबिन भएपछि निर्णय गर्न केही समय लाग्छ । त्यही कारणले गर्दा नेपाल बारले के गर्नुपर्छ भन्ने साथीहरुको आवाज छ भने यो आन्दोलनलाई जारी राख्नुपर्छ । महाअभियोग दर्ता भो भनेर हामी चुप लागेर बस्दैनौं, बस्नु हुँदैन । यसले गर्दा भोलि पनि हाम्रो आन्दोलन यथावत रहनु पर्छ भनेर म सर्वोच्च बार र नेपाल बारलाई आग्रह गर्न चाहन्छु । र, म एउटा के कुरा राख्न चाहन्छु भने चोलेन्द्र शमशेरको बर्हिगमन निश्चित छ । तर हामीले न्यायपालिका सुधारको निमित्त छलफल गर्नुपर्छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनुपर्छ’ उनले भने ।

 

 

अर्का वरिष्ठ अभिवक्ता शम्भु थापाले न्यायपालिकामा देखिएको भ्रष्टाचार अन्त्य गर्नका लागि नेपाल बारले सुरु गरेको आन्दोलनलाई जारी राख्नुपर्ने बताएका छन् । उनले कानुनको शासनलाई अघि बढाएर गणतन्त्रलाई थाम्न सक्ने न्यायाधीश नियुक्तिका लागि पनि नेपाल बारले निर्णायक आन्दोलन गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । 

 

 

‘भ्रष्टाचारको शासनलाई अन्त्य गर्नका लागि धेरै साथीहरुले जीवनको बलिदान गरेका छन । न्यायालयमा भ्रष्टाचार अन्त्य गर्न सबै संवेदनशील भएर लाग्न जरुरी छ । त्यसकारण फेरि पनि वर्तमान संविधानले भनेको निष्पक्ष न्यायाधीश, अनुभवसहितको न्यायाधीश, आचरणयुक्त न्यायाधीश, गणतन्त्रलाई थाम्ने न्यायाधीश । साँच्चै कानुनको शासनलाई अघि बढाउने त्यस प्रकारका न्यायाधीशहरुको नियुक्तिका लागि नेपाल बार अघि बढिरहनु पर्छ’ उनले भने ।

 

 

उनले आचरणयुक्त न्यायाधीश नियुक्तिका लागि सबैले पहल गर्नुपर्ने पनि बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै