
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गरेका छन् ।
काठमाडौंमा आज बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताएका छन् । उनले डडेलधुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटी नै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रिया समेत दिएका छन् ।
उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताउँदै केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘नेकपा एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गर्ने शिलशिला चलेको छ । उत्साहवद्र्धक पनि छ । उदाहरणको निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डैझण्डै सबै जिल्ला कमिटीनै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ । बेग्लै किसिमको उत्साह र तरंग पैदा गरेको छ । तर यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागि परेको छ । उसले अनावश्यक आरोप लगाइरहेको छ । झूटा प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ’ उनले भने ।
उनले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताएका छन् । उनले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताउँदै सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरुले सत्तारुढ दलबीच समन्वय समिति बनाउनु परेको पनि स्पष्ट पारेका छन् ।
‘यो हाम्रो गठबन्धन चुनावसम्म जानेछ । अहिलेको सन्दर्भमा हामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर उम्मेद्वार खडा गर्छौैैं । दोसो कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको स्थानमा हुने उपनिर्वाचनमा पनि हामी मिलेर जानेछौं । यस काममा हाम्रो पार्टीले सम्पूर्ण तयारी गर्नु पर्दछ । कसैकसैले प्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारुढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप गर्दैन’ उनले भने ।
उनले निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउँदै तीन वटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरुले सोच बनाएपनि त्यसरी गर्न कानुन, नियमले मिल्नेनमिल्ने छलफल गरेर अघि बढ्ने बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit