
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु लोकतान्त्रिक उपलब्धि अपहरण गर्ने अपहरणकारीविरुद्ध युद्धमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले शान्तिपूर्ण ढंगले लडाइँ लडिरहेको र यो युद्ध आफूहरुले जित्नुपर्ने बताएका हुन् ।
‘प्रतिगमनकाविरुद्ध युद्धका बेलामा छौं । तर, यो युद्ध रक्तपातपूर्ण छैन,’ उनले भने, ‘जनयुद्धले, जनआन्दोलनले स्थापित गरेका मूल्यमान्यता, प्राप्त गरेका उपलब्धिहरुलाई अपहरण गर्ने, अपहरणकारीविरुद्ध एउटा नयाँ प्रकारको युद्धमै छौं । तर, त्यो रक्तपातपूर्ण र हिंसात्मक छैन । हो चाहिँ युद्ध नै ।’
उनले सर्वोच्च अदालतबाट सही फैसला आउनेमा विश्वास रहेको जनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र विसर्जनतिर लैजान खोजेको आरोप लगाए ।
‘केपीजीले फुटको बाटो रोज्नुभयो । उहाँले पार्टी, संविधान र लोकतन्त्रलाई विघटन र विसर्जनतिर लैजानुभएको छ । पार्टीलाई फुटतिर लैजानुभएको छ,’ उनले भने, ‘नयाँ प्रकारको युद्ध हामीले जित्नुपर्छ ।’
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit