Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ऊर्जामन्त्रीका ऊर्जाशील कुरा, होलान् त पूरा ?

सरकारले प्रत्येक प्रदेशमा अर्ध जलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने भएको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने जानकारी दिएकी हुन् । 

 

उनले प्रदेश नं. १ मा दूधकोशी र तमोर आयोजना अघि बढाउन लागेको बताइन् । प्रदेश नं. २ मा ऊर्जाबाट विद्युत् उत्पादन तयारी गरिएको, वाग्मतीमा कुलेखानी र सुनकोसी–३, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनी प्रदेशमा नौमुरे, माडी, कर्णालीमा नलगाड र सुदूरपश्चिममा सेती जलविद्युत आयोजना उत्पादनको काम अगाडी बढाउने उनले जानकारी दिइन् । 

 

त्यसैगरी निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय, सहजीकरण र अनुगमनको कार्यलाई प्रभावकारी बनाउने, निर्माणाधीन प्रसारण लाइनहरु तोकिएको समयमा सम्पन्न गर्न आवश्यक संयन्त्र बनाएर अनुगमनको कामलाई अगाडि बढाएर समयमै त्यसलाई सम्पन्न गर्ने र समयमै गुणस्तरीय काम गर्नेलाई पुरस्कार तथा नगर्नेलाई दण्ड गर्ने आगामी कार्ययोजना रहेको उनले बताइन् । 

 

मन्त्री भुसालले कालीगण्डकी, मस्र्याङ्दी, कोसी, दोर्दी, चिलिमे, खिम्ति–काठमाडौं, मस्र्याङदी–काठमाडौं आदी करिडोरका प्रशारण लाइनहरु सम्पन्न गर्ने, इनरुवा–ढल्केवर–हेटौँडा ४०० केभी लाइनलाई निर्माण सम्पन्न गर्ने, बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली करिडोर, भेरी करिडोर, सेति कोरिडोर, कोसि कोरिडोरको ४०० केभि प्रसारण लाइनहरु निर्माणका लागि अगाडी बढाउने पनि जनाइन् । 

 

त्यस्तै सबै जिल्लामा २ वर्षभित्र पूर्ण रुपमा विद्युतीकरण गर्ने, राष्ट्रिय प्रसारण लाइन भौगोलिक कारणले पुग्न नसकेका ठाउँमा वैकल्पिक ऊर्जाद्धारा सबै नेपाललाई विद्युतीकरण गर्ने मन्त्री भुसालले बताइन् । 

 

उनले मन्त्रालयले आगामी दिनमा वितरण लाइन तथा सबस्टेशनहरुको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तरलाई सुधार गर्ने, सहरी क्षेत्रको विद्युतीकरणलाई भूमिगत गर्ने र विस्तार गर्ने, देशभर स्मार्ट मिटर जडानलाई बिस्तार गर्ने, सबस्टेशनलाई अटोमेशन गर्ने, चोरी तथा चुहावट नियन्त्रणलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताइन् । 

 

हाल १६.९३ प्रतिशत चुहावट छ त्यसलाई १४ प्रतिशतमा झार्ने कार्यक्रम अघि सारेको पनि उनले उल्लेख गरिन् । कृषि उत्पादनमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनहरुमा विद्युतीकरण अगाडी बढाउने, सबै कृषियोग्य जमिनमा सिचाइको व्यवस्था पु¥याउने तथा कृषिको उत्पादन बढाएर खाद्यान्नमा आत्मनिभएर बनाउने उनको भनाइ छ । 

 

उनले २० युनिटसम्म बत्ति बाल्ने गरिब, विपन्न जनतालाई निःशुल्क विद्युत् दिने, आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै किसानलाई सिचाइँमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत गर्ने पनि निर्णय गरेको छ । 

 

‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं,’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने पनि उनले स्पष्ट पारिन् । यसै वर्षभित्र ५० ओटा विद्युतिय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभि ड्युडीका गाडी बाहेक ऊर्जा मन्त्रालय मातहका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने पनि उनले जानकारी दिइन् ।

 

उनले जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा उपलब्ध गराउने, स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरुको जीवनस्तर उठाउने माध्यम भएको भन्दै विद्युत बढी माग हुने समयमा महशुलमा ८० प्रतिशत र अन्य समयमा पूर्ण रुपमा छुट दिने पनि बताइन् । यसअघि सञ्चालनमा आई विद्युत महसुलको बक्यौताका कारण सञ्चालन हुन नसकेका डिप ट्यूवेलहरुको जरिवाना मिनाहा गरिने पनि उनले जानकराी दिइन् ।
 

प्रतिक्रिया

97
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै